ललितपुर। चीन भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल नेतृत्वको प्रतिनिधि मन्डल र सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलिबीच भेटवार्ता भएको छ ।

भेटमा चिनियाँ टोलिले नेपाली चिया उद्योगको बिकास र प्रवर्द्धन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले नेपालसङ्ग मिलेर संयुक्त रुपमा चियाको बिकास र बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको हो  । गतवर्ष नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमणको क्रममा पनि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै चिया उद्योगको बिकास गर्ने समझदारी भएको उपमेयर पिङले स्मरण गरे ।

चीनले चियाको लागि प्रोसेसिङ प्लान्ट बिस्तार र प्रविधि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। जवाफमा मन्त्री खनालले चीनसङको पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउदै बहुआयामिक बनाउनु पर्नेमा जोड दिए । उन्ले नेपालले चिया तथा कफीमा राम्रो सुरुवात गरेको भए पनि अझै उत्कृष्ट बन्न नसेको अबस्थामा नेपाल सरकारले निर्यात गर्ने कृषि उपजको रुपमा चिया र कफीलार्इ उच्च प्राथमिकता राखेको बताए । त्यसको लागि चीन सरकारको सहयोग चाहिने उनको भनाइ छ ।

खनालले गत वर्ष ५१ हजार किलो चिया चीन निर्यात गरेको जानकारी दिदै अझै गुणस्तरीय चिया निर्यात गर्न चाहेको बताए । सिचुवानको इबिनमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मन्त्री खनाल नेतृत्वको टोली (हिजो) शनिबार चीन गएको हो ।

सम्मेलनमा विश्वका ४० रास्ट्रका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । गत वर्ष उपराष्ट्रपति पुन प्रमुख अतिथिको रूपमा त्यहाँ गएका थिए । चियाको हब मानिने इबिनले तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्दै आएको छ ।