ललितपुर।नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ ।

लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ४.६ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा राष्ट्र बैंकले देशका ५७ जिल्लामा रहेका वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट सङ्कलन गरेको तथ्याङ्कमा रु एक खर्ब १० अर्ब ६ करोड लगानी गरेको पाइएको छ ।

साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण :

सरकारले प्रदान गरेको व्याज अनुदानमा कृषि ऋण लिनेको संख्या साढे १० हजार पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म १० हजार ४८७ जनाले ५ प्रतिशत व्याज अनुदानमा कृषि ऋण लिएका छन्। यो ऋण अन्तर्गत १८ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ भने ८८ करोड ५५ लाख ब्याज अनुदान प्रदान गरिएको छ।

वाणिज्य बैंकका शाखाहरुमार्फत सरकारले कृषि काम गर्नका लागि व्याजमा ५ प्रतिशत छुट दिँदै आएको छ। बैंकहरुले आधार दरमा बढीमा २ प्रतिशतसम्म जोडी यस्तो ऋणको व्याजदर तय गर्न सक्छन्। सो दरमा ५ प्रतिशत अनुदान घटाएपछि बाँकी रहेको व्याजदर ऋणीले तिरे पुग्छ।

कृषि व्यवसायको आकारअनुसार ५ करोड रुपैयाँसम्म ऋण पाइन्छ। राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ५.६ प्रतिशत मात्रै छ। तसर्थ सो बैंकबाट यस्तो ऋण लिँदा २.६ प्रतिशत मात्रै व्याज पर्न आउँछ।

राष्ट्रिय वाणिज्य बाहेक अरु बैंकका शाखाबाट पनि यस्तो ऋण पाइन्छ। तर आधार व्याजदर कम भएको बैंकबाट ऋण लिँदा व्याजमा अझ राहत मिल्छ।

यस्तो ऋणमा कुनै थप सम्पत्ति धितो राख्नु पर्दैन। यो ऋण लिएर जुन कृषि उद्यम थाल्ने हो, सो सबै स्वतः धितो हुन्छ। पशुपंक्षी, धानबाली वा फलफुल फर्म जे व्यवसाय गरिएको छ त्यो नै धितो हुन्छ।

कसरी लिने कृषि ऋण ?
ऋण लिनका लागि सबैभन्दा पहिले फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान नं. लिनुपर्छ। कम आधार व्याजदर भएको बैंक छानेर त्यसको नजिक रहेको शाखामा गई व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा मागको आवेदन भर्नुहोस्। यसका लागि तपाईले गर्ने व्यवसायको सम्पूर्ण विवरण र योजना चाहिन्छ।

बैंकले उपलव्ध गराएको परियोजनाको ढाँचमा यी विवरण भर्नुहोस्। तपाईको र परिवारका सदस्यको नागरिकताको प्रमाणपत्र प्रतिलिपी पनि चाहिन्छ।

यो ऋणबाट जुन कृषि काम गरिएको छ। सो परियोजनाको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ। बीमा गर्दा पनि प्रिमियम रकम तपाईले २५ प्रतिशत मात्रै तिरे पुग्छ। बाँकी ७५ प्रतिशत राष्ट्र बैंकको शोधभर्ना खाताबाट हुन्छ।

यस्तो ऋण तपाईले एकमुष्ट पाउनुहुन्न। परियोजनाको ढाँचाअनुसार काम गर्दै जाँदा ऋण पाइँदै गर्छ। १० लाख रुपैयाँभन्दा बढीको कर्जाका लागि अनिवार्य रुपमा संस्था र एक करोड रुपैयाँभन्दा बढीको कर्जाका लागि अनिवार्य रुपमा कम्पनी हुनुपर्नेछ।

ऋण नपाए राष्ट्र बैंकमा उजुरी गर्नुहोस् :
सहुलियत व्याजदरको ऋण लिनका लागि आफूले प्रक्रिया पुर्याउँदा पुर्याउँदै पनि चाहेको बैंकको कुनै शाखाले दिन नमानेमा तपाईले सिधै राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ।

राष्ट्र बैंकको नजिकको क्षेत्रीय कार्यालय वा प्रधान कार्यालय ०१ ४४१०१५८ वा ०१ ४४१०२०१ मा सीधै फोन गरी वा इमेल मार्फत उजुरी गर्न सकिनेछ।  सम्बद्ध बैंक शाखामार्फत पनि उजुरी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।