ललितपुर। संघीय संसदअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले धुलो दूध आयातमा पूर्ण प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिएको छ। शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र सचिव युवकध्वज जीसी सहभागी समितिको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिका सदस्य तथा सांसदहरुले पछिल्लो समय रासायनिक मल अभाव समस्या, दुध पाउडरको आयात फितलो, चिनी आयात र सरकारी अनुदान वास्तविक किसानसम्म पुग्न पुग्न नसकेको प्रति समितिको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य तथा सांसद महेश बस्नेतले मल खरिद र दुध उत्पादनका क्षेत्रमा देखिएको कार्टेलिङ सरकारले छिट्टै समाधान गर्नुपर्ने बताए । उनले पाउडर उत्पादन गर्ने स्वदेशी प्लान्टलाई सरकारले अनुदान दिएर स्तरोन्नती गर्नुपर्ने बताए ।

किसानले रासायनिक मलमा पाइरहेको अनुदान रकम घटाएर भएपनि धेरै मात्रामा मल खरिद गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

अनुदानका लागि सरकारले खरिद गरेको मल ५० हजार ७ सय ४६ मेट्रिक टन मात्र मौज्दात रहेको छ। हाल मौज्दात रहेको मल अपुग रहेको र धानबालीका लागि चाहिने मल ल्याउनसमेत समितिले निर्देशन दिएको छ।