ललितपुर। संसदीय समितिले साना तथा घरेलु उद्योग र कृषिमा विदेशी लगानी भित्र्याउन नपाउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधयेक २०७५ पास गरेको छ । सरकारले १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई लक्षित गरी यो विधेयक ल्याएको थियो ।

प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार संशोधनसहित विधेयक पास गरेको छ । विधयेकका ६४ वटा विषयमा संशोधन परेको थियो, जसमध्ये अधिकांश अस्वीकृत भएको छ भने केहीलाई समेटिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले उठाएको विषयमा भने समितिले सम्बोधन गरेको छ । उनीहरुले कृषि, साना तथा घरेलु उद्योगहरुमा विदेशी लगानी भित्र्याउन नहुने बताएका थिए । समितिले कुखुरा तथा पशुपंक्षी पालन, माछा, मौरी, फलफूल, दुग्ध व्यवसाय, तेलहन, दलहन लगायत कृषि जन्य व्यवसायमा विदेशी लगानी भित्र्याउन नपाइने गरी विधेयक पास गरेको छ ।

लघु तथा घरेलु र व्यक्तिगत व्यवसायहरुमा स्वदेशी लगानी स्वीकार गर्ने गरी विधेयक संशोधन गरिएको छ । विधेयक आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने तयारी छ ।