
काठमाडौं। कृषि मन्त्रालय मातहतको कृषि पुर्वाधार तथा कृषि यांत्रिकीकरण प्रवद्र्धन केन्द्र र तार्केश्वर नगरपालिकाको साझेदारीमा काठमाडौंको तार्केश्वरमा तरकारी बजार निर्माण हुने भएको छ ।
बजारको शुकवार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शिलान्यास गर्नुभयो । काठमाडौंको जनसंख्या १० लाख हुँदा बनाएको कालिमाटी तरकारी बजार अहिले ५० लाखभन्दा बढी जनसंख्या हुँदा पनि त्यसैलाई केन्द्रीय बजार भन्ने अवस्था अन्त्य गर्नाका लागि त्यसको बिकल्प खोजिएको मन्त्री खनालको भनाई थियो । ‘संघीयता पछि पनि काठमाडौंको जनसंख्या नघटेको बताउँदै मन्त्री खनालले त्यसैको विकल्पको रुपमा तरकारी बजारको आवश्यता रहेको बताउनुभयो ।’ त्यसैगरी मन्त्री खनालले देशभर ५० वटाभन्दा बढी बजार बनाउन लागेको दावी गर्नुभयो ।
१२ करोड लागतमा बिराटनगरमा निर्माण भइ रहेको तरकारी बजारको प्रसंग उल्लेख गर्दै मन्त्री खनालले , काठमाडौंमा तरकारी बजारको लागि ५ करोड बिनियोजन गरिएको बताउनुभयो । यो बजार निर्माणलाई तीव्रता दिनुस, रकम अभाव हुन दिइदैन ।
मन्त्रालयका सचीव डा युबकध्वज जिसीले बजार निर्माणको लागि सबै सहयोग गर्न तयार रहेको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । काठमाडौ प्रवेश गर्ने ५ नाकामा तरकारी बजार निर्माण गर्ने मन्त्रालयको योजना अनुसार निर्माण हुन लागेको यो दोस्रो बजार हो । यसअघि काठमाडौंको चोभारमा तरकारी बजार निर्माण भइरहेको छ ।
यो कालिमाटीको फलफुल तथा तरकारी बजार पछिको ठूलो तरकारी बजार हुने कृषि पुर्वाधार तथा कृषि यांत्रिकीकरण केन्द्रले जनाएको छ । ३ बर्षमा बजार निर्माणको काम सक्ने केन्द्रका प्रमुख राजेन्द्र मिश्रले बताए । १६ रोपनी १५ आनामा बजार निर्माण हुन लागेको हो ।