ललितपुर। केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको छ ।

संघका केन्द्रिय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजाभन्दा बढि सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे ।

उनले भने,‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसानहरु पनि ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधकिारीले औंल्याए ।

नेपालका उन्नत नश्लका बाछीहरु स्वदेशमै संरक्षण तथा व्यवस्थापन हुन नसकी अहिले भारततर्फ पलायन भैरहेको पनि अधिकारीले सुनाए ।

नेपालमा पशुजन्य उत्पादनको आपुर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको संघले जनाएको छ ।

संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्ग अनुसार दुधालु गाईको संख्या १२ लाख रहेको र करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरीएको छ ।

त्यसैगरी दुधालु भैंसीको संख्या १० लाख रहेको संघले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यीनै गाईभैसींबाट वार्षिक २० लाख मेट्रीकटन दूध उत्पादन हुने गरेको र सोमध्ये ५ लाख मेट्रीकटन औपचारीक बजारमा आउने गरेको छ ।

८ लाख मेट्रीकटन दूध खुला बजारमा किसानले उपभोक्ताहरुको घरघरमै गएर बिक्रि गर्ने गरेको र ७ लाख मेट्रीकटन दूध अहिले पनि बजारको पहुँचभन्दा बाहिर रहेको छ ।

चिनिया गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विद्येयक तत्काल फिर्ता लिन यस संघ सरकारसँग जोडदार माग गर्दछ ।