ललितपुर। राष्ट्रिय किसान आयोगले अन्तर्राष्ट्रिय किसान सम्मेलनको आयोजना गर्ने भएको छ । काठमाडौंँमा यही फागुन २६–२८ गतेसम्म हुने सम्मेलनमा १० देशका १५ जना प्रतिनिधि सहभागि हुने आयोगले जनाएको छ। सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्यपत्र प्रस्तुत हुने आयोगले जनाएको छ ।

आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल लगायत बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, उत्तर कोरिया, भियतनामका किसान प्रतिनिधि, कृषि सहकारीका प्रतिनिधि, उद्योगी व्यवसायी तथा कृषि विज्ञ सहित ३५० जनाको उपस्थिति रहने जानकारी दिइयो ।

‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलन देशलाई समृद्ध बनाउने गरी किसानको अधिकार र कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति तय गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनका लागि ५० लाख रुपियाँ बजेट छुट्याइएको छ । सम्मेलनबाट खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवद्र्धनसम्बन्धी ऐन कानुन तर्जुमा र कार्यान्वयन, नीति निर्माण तथा परिमार्जन गर्नमा टेवा पुग्ने विश्वास लिएको आयोगले जनाएको छ ।