दार्चुला। दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् ।

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्सावापतको रकम मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेका छन् ।

यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री भएको छैन ।

‘मैले झण्डै ९० किलोको हाराहारीमा यार्सागुम्बा खरीद गरे, तर हालसम्म ३०-३५ किलो जति मात्रै बिक्री गर्न सकेको छु’, बमले भने ।

दार्चुलाबाट यार्सागुम्बाको गुणस्तर हेरी प्रतिकिलो  १७ लाखदेखि २४ लाख रूपैयाँसम्मका दरले खरीद गरेको यार्सागुम्बा बिक्री नभएपछि समस्यामा छौँ । अहिले काठमाडौं प्रतिकिलो१० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ । खासगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ ।

यार्सागुम्बामा प्रतिकिलो  सातदेखि आठ लाख घाटा छ । एकातिर स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा सङ्कलन गरिएको छ । उनीहरुले पनि यार्साको पैसा माग्दैछन्, बमले भने, तर हामीहरुको यार्सा नै बिक्री भएको छैन ।

दार्चुलाबाट यार्सा खरीद गरी काठमाडौँ गएर फर्किएका अधिकांश व्यापारी यार्सागुम्बाको मूल्य नमिलेको भन्दै निराश भएर फर्किएका छन् ।

व्यापारी सोभानसिंह ठगुन्ना भन्छन्, ‘एक महीना काठमाडौँ बस्दा यार्सागुम्बा बिक्री भएन । बैंकको ऋण, आफन्तबाट निकालेको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या छ । साना–ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहुँदा समस्यामा छन् ।’

व्यापारी बम भन्छन्, ‘अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने एक करोड घाटा हुँदैछ । अहिले यार्सागुम्बा काठमाडौं पुर्याएर राखिएको छ । अधिकांश व्यापारीले भने अझै जिल्लामै यार्सागुम्बा थन्क्याएका छन् । व्यापारीका अनुसार झण्डै दुई क्विन्टल यार्सागुम्बा जिल्लामै छ । आफूले यार्सागुम्बाको कारोवार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन । ‘

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५५५ किलो यार्सागुम्बा निकासी गरिएको छ । अझै व्यापारीले मूल्य नपाएको भन्दै यार्सागुम्बा बाहिर लगेका छैनन् ।

कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार ८२० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ । व्यापारीको मागअनुसार यार्सा निकासीको परिणाम बढाइएको हो ।

साउन, भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरीद गरेका थिए ।

चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यत्तिकै थन्किएको छ । यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको अर्का व्यापारी धनसिंह जागरीले बताए ।

काठमाडौंमा यार्सागुम्बा बिक्री नभएपछि व्यापारीले यार्सा सङ्कलन गर्नेहरूको रकमसमेत भुक्तानी गर्न सकेका छैनन ।

दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बताउँचन् । उनले भने, ‘कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरीद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लगेका हुन् तर अझै पैसा पाइएको छैन । व्यापारीले रकम नदिँदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन ।’

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।

हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको निकासीवापत एक करोड ६३ लाख ५० हजार रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।