ललितपुर। हिउँदे र बसन्त मकै बालीको लागि किसानलाई उत्प्रेरीत गर्न नसक्दा मकैको आयातमा बृद्धि भएको छ ।

दाङमा संचालन भैरहेको मकै सुपरजोन कार्यक्रमका प्रमुख महेश रेग्मीका अनुशार ७० प्रतिशत मकै उत्पादन हुने पहाड क्षेत्र रहेपनि पहाडमा वर्षे बालीमात्र मकै उत्पादन हुँदा मकैको आयातमा बृद्धि भएको हो । रेग्मीका अनुशार अहिले दाङमा संचालन भैरहेको सुपरजोनमा समेत सम्पूर्ण किसानलाई समेट्न नसकेको उहाँको भनाई छ ।

दाङमा संचालित सुपरजोन अन्तर्गत सात हजार हेक्टरमा मकैखेती भैरहेको छ । तर यो हिउँदे मकै मुस्किलले चार/पाँच सय हेक्टरमा लगाउँछन्, सुपरजोनका वरिष्ठ कृषि अधिकृत महेश रेग्मी भन्नुहुन्छ ‘हावापानीले साथ नदिएको कारण हिउँदे मकैतिर किसानको आकर्षण कम भएको छ । यसको बारेमा सरकारले गम्भीर अध्ययन गर्न लगाउनुपर्छ ।

दुई वर्षदेखि सुपरजोनले यहाँ काम गरेको छ । उहाँ हिउँदे मकैप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार एक हेक्टर खेतमा हिउँदे मकै लगाउने किसानलाई सुपरजोनले १० हजार रुपियाँ दिने गरेको छ ।

वर्षे मकैमा पनि यो अनुदान दिइन्छ तर त्यसका लागि किसानले प्रत्येक वर्ष उत्पादनमा १० प्रतिशत वृद्धि गरेको हुनुपर्छ । उहाँले वर्षे मकैभन्दा हिउँदे मकैको माग धेरै रहेको बताउनुभयो । अधिकृत रेग्मी भन्नुहुन्छ ‘‘हिउँदे मकै दाना बनाउनमा मात्र काम लाग्छ, अन्य प्रयोजनमा प्रयोग हुँदैन, उत्पादन हुने वर्षे मकैको ३० प्रतिशत मात्र बिक्री हुने गरेको छ बाँकी ७० प्रतिशत मकै किसानले आफैँ उपभोग गर्छन् ।

मकैको आयात बढ्दै :

नेपालमा परापूर्वकालदेखि मकै खेति हुँदै आएको छ । नेपालमा फागुन/ चैतलाई मकै रोप्ने महिनाको रुपमा लिने गरिन्छ । जेठरअसार महिनामा मकै टिप्नेरभाँच्ने गरिन्छ । नेपाल कृषि उर्बर जमिन भएको र त्यही संस्कारसँगै हुर्किएको देश भएपनि हामी प्रत्येक वर्ष अन्य देशबाट मकै भित्राउँदै आएका छौँ ।

मकै उत्पादन गत वर्षभन्दा बढि भएपनि लक्ष्य भने हाँसिल हुन सकेको छैन । गत आर्थिक वर्ष २५ लाख २० हजार मेट्रिक टन मकै उत्पादन भएकोमा यस वर्ष २६ लाख ४४ हजार मेट्रिक टन मकै उत्पादन भइसकेको छ । गत वर्षभन्दा एक लाख २४ हजार मेट्रिक टन बढि उत्पादन भएपनि लक्ष्य भने पूरा हुन सकेको छैन ।

‘मकैको उत्पादन प्रत्येक वर्ष थोरै प्रतिशतले बढिरहेको छ, त्यसले गर्दा अर्बौंको मकै आयात भैरहेको देखिन्छ ।

नेपाली बजारमा भारत, अर्जेन्टिना, ब्राजिलबाट आयात भएका मकै पाइने गरेका छन् । नेपालमा भारतबाट यो आर्थिक वर्षको ११ महिनामा २३ करोड ५७ लाख रुपैयाँ बराबरको मकै आयात भएको छ । भारतबाट ११ लाख ३० हजार केजी बढी मकै नेपाल भित्रिने गरेको भन्सार विभागको बिवरणले देखाएको छ ।

यस्तै, अर्जेन्टिनाबाट यो आर्थिक वर्षमा ४ करोड ३१ लाख रुपैयाँ बराबरको मकै आयात गरेका छाँ। अर्जेन्टिनाबाट ७ लाख १२ हजार केजी बढी मकै आयात हुने गरेको छ ।

ब्राजिलबाट नेपालले यो आर्थिक वर्ष २०७४/०७५ सालको ११ महिनामा ६० लाख रुपैयाँ बढी मकै आयात गरेको छ । सो अवधिमा ब्राजिलबाट १ लाख केजी मकै आयात भएको छ ।

अन्य मुलुकहरुबाट भने १८ हजार रुपैयाँको मकै आयात भएको भन्सार विभागको विवरणले देखाएको छ ।

यस्तै, नेपालमा ठूलो दानावाला मकै अमेरिका, अर्जेन्टिना, ब्राजिल, चीन, भारतबाट आयात हुने गरेको छ ।

नेपालमा ठूला दाना भएका मकै भारतबाट सबैभन्दा धेरै आयात हुने गरेको भन्सार विभागको विवरणले देखाएको छ ।

यो आर्थिक वर्षको ११ महिनामा भारतबाट १० अर्ब १२ करोड रुपैयाँ बढीको ठूला दानावाला मकै भित्रिएको छ । नेपालले यो अवधिमा भारतबाट ४० करोड ९४ लाख केजी भन्दा बढी ठूला दाना भएको मकै आयात गरेको छ ।

दोस्रोमा अर्जेन्टिनाबाट ठूला दाना भएका मकै भित्रिने गरेको छ । अर्जेन्टिनाबाट नेपालले २९ करोड रुपैयाँ भन्दा बढी मूल्यको मकै आयात भएको छ । अर्जेन्टिनाबाट ४९ लाख ५७ हजार केजी भन्दा बढी ठूला दानावाला मकै आयात भएको छ ।

तेस्रोमा ब्राजिलबाट ठूला दानावाला मकै आयात हुने गरेका छन् । नेपालले ब्राजिलबाट २ करोड ३६ लाख रुपैयाँ बढीको ठूला दानावाला मकै आयात गरेको छ । ब्राजिलबाट ४ लाख २ हजार केजी बढी मकै आयात भएको छ ।

अमेरिकाबाट नेपालले २५ लाख २८ हजार रुपैयाँको ठूला दानावाला मकै आयात भएको छ । नेपालले यो आर्थिक वर्षको ११ महिनामा अमेरिकाबाट ४१ हजार ६ सय केजी मकै भित्राएको छ ।

यस्तै, चीनबाट भने सबैभन्दा कम मकै आयात हुने गरेको भन्सार विभागको विवरणले देखाएको छ । चीनबाट २ हजार रुपैयाँको १ केजी ठूला दानावाला मकैमात्र आयात गरिएको छ ।