सर्लाही। गत वर्ष विक्री गरेको उखुको बाँकी भुक्तानी तथा अनुदानबापतको रकम माग गर्दै उखु किसान सडक आन्दोलनमा उत्रिएका छन् । सोमवार सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम लोकमार्गमा उखुका लाँक्रासहित भेला भएका किसानले विरोध जुलुस निकालेका हुन् ।

पूर्वपश्चिम लोकमार्गस्थित हरिवन चोकमा भेला भएका किसानको जुलुस इन्दुशंकर चिनी उद्योगअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै कुनै पनि बहानामा राज्य, उद्योग तथा स्थानीय प्रशासनले किसानले पाउने पैसा रोक्न नसक्ने नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले चेतावनी दिए ।

विरोध र्‍यालीमा २ नम्बर प्रदेशका तीन जिल्ला सर्लाही, रौतहट र महोत्तरीका विभिन्न स्थानका उखु किसान सामेल भएका थिए ।