एनेन्सी। भारतले पाकिस्तानतर्फ चियापत्तिको निर्यात घटाउने भएको छ । हालै पुलवामामा भएको आतंकवादी हमलाको विरोध गर्दै त्यहाँका चिया उत्पादकहरुले यस्तो घोषणा गरेका हुन् । यसरी कटौती गरिएको चियापत्तिलाई इजिप्ट, मध्य पूर्व र रुस लगायत अन्य प्रमुख बजारमा बेच्ने प्रयास गरिने भारतीय चिया संघका अध्यक्ष विवेक गोयन्काले बताएका छन् ।

विगत केही वर्षयता पाकिस्तानमा भारतीय चियापत्तिको माग निकै बढेको छ । सन् २००७ देखि सन् २०१६ को अवधिमा निर्यात ३५ दशमलव ८ प्रतिशतले बढेको संयुक्त राष्ट्र संघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)को तथ्याङ्कले देखाएको छ ।

सन् २०१८ मा भारतले पाकिस्तानतर्फ १ करोड ५८ लाख ३० हजार केजी चियापत्ति निर्यात गरेको थियो । यो सन् २०१७ को तुलनामा ७ दशमलव ४३ प्रतिशत धेरै हो । पुलवामा आक्रमण लगत्तै भारतले ‘मोष्ट-फेवर्ड नेशन’को सूचिबाट पाकिस्तानलाई हटाएको थियो ।