ललितपुर। घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले राजधानीमा ‘१५औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला, घरेलु उद्योग महोत्सव तथा तेस्रो प्रांगारिक कृषि मेला–२०७५’ आयोजना हुने भएको छ । फागुन २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू तथा भारत, पाकिस्तान, बंगलादेश र चीनका उद्यमीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए ।

मेलामा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०० ओटा स्टल रहने मेलाको २ लाखभन्दा बढीले अवलोकन गर्ने तथा ७ करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । महासंघका अनुसार यो क्षेत्रले औद्योगिक रोजगारीको कुल ७५ प्रतिशत र कुल औद्योगिक निर्यातको ८० प्रतिशत हिस्सा ओगटेको छ ।

अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि यसै मेलामा प्रांगारिक कृषि मेला पनि आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

मेला मार्फत नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तरराष्ट्रिय बजारीकरणमा टेवा पुर्‍याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने उद्देश्य रहको प्रांगारिक कृषि मेलाका संयोजक शान्ता बास्कोटा कोइरालाले जानकारी दिइन् ।