बैतडी। अज्ञात रोगका कारण धमधाम भैंसी मर्न थालेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का किसानहरु चिन्तित बनेका छन् । गएको एक हप्ता यता किसानहरुले पालेका भैंसी मर्न थालेका हुन् ।

रातो गहुँत आउने, भैसीको खुट्टाहरु सुन्निने, र्याल चुहाउने,खाना नखाने जस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताए । गाउँमा अहिले सम्म दुई भैंसी मरेका छन् भने १० भन्दा बढी भैसी बिरामी परेका छन् ।

किसानहरुले पालेका भैसी रोगका कारण मर्न थालेका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । वडाको ढोले, सेला टोलमा भैसीहरुमा रोग बढी देखिएको छ । वडामा पशु प्राविधिक नहुँदा रोगको बारेमा पहिचान हुन सकेको छैन् उनले भने,–‘स्थानीय तहका वडाहरुमा प्राविधिक कर्मचारीहरु समेत नहुँदा किसानहरुले समस्या झेल्दै आएका छन् ।’

गाउँपालिका भरी एकजना पशुप्राविधिक मात्रै रहेका र उहाँलाई खबर गरिसकेको वडा अध्यक्ष बोहराको भनाई छ । गत साल पनि सो क्षेत्रमा यही रोगका कारण ८-१० भैंसी मरेका वडा अध्यक्ष बोहराले जानकारी दिए ।

बैतडीको लेकाली क्षेत्रका किसानहरु भैंसीपालनबाट जिविकोपार्जन गरिरहे पनि विभिन्न रोगले भैंसीहरु मर्न थालेपछि किसानहरु समस्यामा परेका छन् । जिल्लामा पशुको उपचार गराउनका लागि सहज पहुँच नभएको किसानहरुको गुनासो रहेको छ ।