नेपालगन्ज। बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको सुरुवाती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर जमीनमा मकै खेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टर जमीनमा मकै खेती गर्दै आएका छन्।

जिल्ला परियोजना प्रमुख देवेशकुमार मिश्रकाअनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भइसकेका छन्।

परियोजना अन्तर्गत कृषकहरूलाई आधुनिक उपकरण लगायत प्राविधिक सहयोग हुँदै आएको बताइएको छ। डुडुवा गाउँपलिकाका कृषक रामप्रसाद यादवले भने,–‘पहिले गरिँदै आएको मकै खेती र अहिले परियोजनाले भनेजस्तो मकै खेतीमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ।’

नेपालगन्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ। परियोजना कार्यक्रमअन्तर्गत जिल्लाका कृषकहरूले हिउँदे र वसन्ते मकै खेती गर्दै आएकामा आगामी आर्थिक वर्षदेखि वर्षे खेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ।

‘परापूर्वदेखि मकै खेती हुँदै आएको बाली, जलवायु र माटो अनुकूल तथा कृषकको मागका आधारमा परियोजनाले यस जिल्लालाई मकै जोनका रुपमा छनोट गरेको हो,’ परियोजना प्रमुख मिश्रले भने।

जिल्लामा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत कृषकहरूलाई किटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलव्ध गराउनाका साथै मकै खेतीसम्बन्धी तालीम पनि दिँदै आइएको छ।

अनुदान सहयोगअन्तर्गत पछिल्लो पटक नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फर्म, वडा नम्बर २२ पुरैनीको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ।

सो परियोजना मुलुकका सबै जिल्लामा सञ्चालित छ। जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजना अन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको जिल्ला परियोजना प्रमुख मिश्रले बताए।