काठमाडौं। प्रतिनिधिसभा सदस्य ह्रदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालय नै विचौलियाको पक्षमा लागेको भन्दै यस्तो माग राखेका हुन् ।

सूर्य चिह्नबाट निर्वाचित सांसद त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।’

विगतदेखि नै किसानको लागि सरकारको लगानी अत्यन्त न्यून रहेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘२०३४ सालदेखि अहिलेसम्म कृषिमा देखिएको लगानी किसानमाथि १८ प्रतिशत र ८२ प्रतिशत अन्य तामझाममा खर्च भएको छ । किसानको नाममा खर्च भएको छ, किसानको लागि खर्च भएको छैन ।’

उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालयले व्यापारीको पक्ष लिएको त्रिपाठीको आरोप छ । सरकार र व्यापारी मिलेर निरीह किसानलाई बलीवेदीमा चढाएको उनको भनाई थियो ।

त्रिपाठीले भने, ‘यो विषय उठाउँदा उठाउँदै मलाई लाज लाग्न थालिसक्यो । तर जसलाई लाज लाग्नुपर्ने हो त्यसलाई लाज नलागेकोले म लाज नमानी भन्दैछु( देशका किसानहरु राज्यबाट सधैं उपेक्षित रहे, सरकार जसको भए पनि । विचौलियाको पक्षपोषण हुँदै गयो, अहिले पनि जारी छ । उत्पादक हैरान, विचौलियाहरु मालामाल हुँदै गए ।’

सरकारले ६५ रुपैयाँ २८ पैसा प्रतिक्विन्टल अनुदान किसानलाई दिने निर्णय गरे पनि कृषि मन्त्रालयको जटिल सर्कुलरका कारण ७० प्रतिशत किसानले अनुदान नपाएको उनले बताए । ‘कृषि मन्त्रालयको जटिल सर्कुलरको कारणले गर्दा अहिलेसम्म २५ देखि ३० प्रतिशत किसानले मात्रै त्यो अनुदानको रकम पाएका छन्, बाँकी त्यसै थन्केर बसेको छ । गत सिजनको कुरा गर्दैछु म, अहिले नयाँ त बाँकी नै छ,’ उनले भने ।

चिनी अभाव हुने र चलखेल बढ्ने ठोकुवा :

सांसद हृदय त्रिपाठीले गत बर्षकै उखुको भुक्तानी समेत किसानले पाउन नसकेको भन्दै उनले सरकार र व्यवसायीको लडाइमा किसानलाइ बलिको बोको बनाइएको बताए । सरकारले उखु किसानलाइ दिने अनुदान अझै ७० प्रतिशत रकम बाँकी रहेको भन्दै व्यवसायीबाट भन्दा पनि कृषि विकास मन्त्रालयमार्फत सिधैं किसानको खातामा जम्मा गर्नुपर्ने बताए ।

उनले गत बर्षको उखुको भुक्तानी व्यवसायी नदिँदा किसान मर्कामा परेका बताए । ‘अहिले व्यवसायीले विभिन्न बाहना बनाएर उखुको भुक्तानी गरेका छैनन् । भने अर्कोतर्फ उद्योग सञ्चालन नगरिँदिदा किसानको उखु बारीमा सुक्न थालेको छ’ उनले भने, ‘यस विषयमा सरकार किन उत्तरदायी भएन् ?’

सांसद त्रिपाठीले चिनीको आयात बन्द गर्दा र सरकार र व्यवसायीको लडाइका कारण आगामी जेठ-असारमा चिनीको अभाव हुने र फेरी अर्को चलखेल हुन सक्ने आशंका गरे ।