चिप्लेढुङ्गा। देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु गरे।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो तालीममा प्रदेशका आठ जिल्लाका ३५ जना सहभागी रहेको छ।

बिहिवार तालीमको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले हरेक युवाले व्यावसायिक सीप सिकेर अघि बढे मुलुक चाँडै नै समृद्ध हुने बताउँदै वित्तीय संस्थासँगको सहकार्यमा सहुलियत दरमा ऋण उपलब्ध गराएर विपन्न वर्गको आर्थिक सवलीकरणमा जोड दिनेछ भने।

उनले भने, “अब जोश र जाँगर साथ काम गर्ने युवा विदेश जानु पर्दैन, उनीहरुका लागि स्वदेशमै पर्याप्त रोजगार सिर्जना गरिन्छ ।”

मन्त्रालयका उपसचिव नारायण आचार्यले प्रदेशमा स्वरोजगार सिर्जनाका लागि व्यावसायिक सीपमूलक तालीममा जोड दिएको उल्लेख गर्दै तालीमलाई आर्थिक रुपान्तरणसँग जोड्नुपर्ने बताए।

एभोकाडो विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उल्लेख गर्दै केही जिल्लामा यसको व्यावसायिक खेती शुरु भएको जानकारी दिए। नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको उनले बताए।

समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । यसलाई नगदे फलका रुपमा पनि मानिन्छ । स्वास्थ्यका लागि एभोकाडो धेरै फाइदाजनक हुने मानिएको छ।

पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर किसानले राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । एभोकाडो रोपेको तीनदेखि चार वर्षभित्र फल दिन शुरु गर्छ। यसले फल दिन थालेको ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने राईको भनाई छ।