चितवन। विपन्न परिवारका बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ प्रणय दिवसका अवसरमा १३औं सौराहा खाद्य महोत्सव आयोजना गर्न लागिएको छ । रेस्टुराँ एन्ड बार एशोसिएशन नेपाल (रेबान)को आयोजनामा यही माघ २८ देखि फागुन ३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव आयोजक समितिका संयोजक ध्रुव गिरीका अनुसार कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत रत्ननगर नगरपालिका–५, ६ र ७ मा रहेका विपन्न परिवारका बालबालिकाका लागि शैक्षिक क्षेत्रमा लगानी गर्न कोष सञ्चालन गरिनेछ । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नाराका साथ रत्ननगर नगरपालिका–७, सिसुवार चौरमा विविध कार्यक्रमका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

स्वदेशी तथा विदेशी खाना, स्थानीय कला संस्कृति, वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने, खानाको परिकारको गुणस्तर वृद्धि गर्न टेवा पुग्ने, सौराहालाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउनेलगायत उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको संयोजक गिरीले जानकारी दिए ।