संखुवासभा। संखुवासभाका १० स्थानीय तहका २९ वडामा अलैंची जोन कार्यक्रम लागू हुने भएको छ। खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइएको कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख रामबहादुर ठाकुरले बताए।

जिल्लाको कुल ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने अलैंचीका लागि धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र सभापोखरी, चिचिला, सिलिचोङ, मकालु, भोटखोला गाउँपालिकालाई पकेट क्षेत्र मानिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले धर्मदेवी नगरपालिकाको १ र २, मादीको १, ७, ८ र ९ चैनपुरको १, २ र ४, पाँचखपनको १ र ९ खाँदबारीको ३, ४ र ११ सभापोखरीको २, ३, ४, ५ र ६ चिचिला गाउँपालिकाको ५ वटै वडा, सिलिचोङको ५, मकालुको ५ वटै वडा भोटखोलाको ४ नम्बर गरी २९ वडामा अलैंची जोन कार्यक्रम लागु गरिने भएको ज्ञान केन्द्र खाँदबारीका प्रमुख ठाकुरले जानकारी दिए। गतवर्ष संखुवासभामा ३०० मेट्रोन टन अलैंची उत्पादन भएको थियो।

तीन वर्षअघि मात्र प्रतिमन एक लाख १० हजार रुपैयाँसम्म बिक्री भएको अलैंचीको मूल्य यो वर्ष प्रतिमन २८ हजारमा बिक्री भएको बताइएको छ। अलैंचीको भाउमा आएको भारी गिरावट र अलैंचीमा लाग्ने रोग गर्दा किसान झन् मारमा पर्ने गरेका छन्।