राँझा। कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोड रूपैयाँको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

सो प्रशाेधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ सेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उक्त प्रशोधन केन्द्रमा गत वर्ष ४८० बोरा राधा–४ धानको बीउ प्रशोधन गरिएको थियो । “यस वर्ष ६०० बोरा धानको बीउ प्रशोधन गर्ने तयारी छ,” संस्थाका अध्यक्ष होमराज कुर्मीले भने ।

उनले ६०० क्विन्टल राधा–४ धानको बीउ भण्डारण गरेर राखिएको बताए । चैतमा प्याकिङ गरेर वैशाखमा किसानलाई सो बीउ बिक्री वितरण गरिनेछ । “किसानलाई वितरण गरेको बीउ पछि हामी आफैं खरीद गछौँ,” उनले भने । चैतमा धानको बीउ बिक्री वितरण गरी गहुँको बीउ भण्डारण गर्ने तयारी छ । सहकारीले कृषि अनुसन्धान केन्द्र खजुराले उत्पादन गरेको धानको मूल बीउ तालिमप्राप्त कृषकलाई दिई त्यहाँबाट उत्पादन भएको पहिलो पुस्ताको बीउ प्रशोधन गरेर किसानलाई बिक्री वितरण गर्दै आएको छ ।

अहिले तालिमप्राप्त ६० कृषकले धान तथा ४० कृषकले गहुँको बीउ उत्पादन गर्दै आएका छन् । मूल बीउबाट चार वर्षसम्म पर्याप्त उत्पादन लिन सकिने कुर्मी बताउँछन् । सहकारीको बीउ उत्पादन उपसमितिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानी तथा कृषि अनुसन्धान केन्द्रको परामर्शमा सरकारले तोकेको मापदण्डअनुरुप बीउबिजन प्रशोधन हुने गरेको कार्यकारी व्यवस्थापक रामबहादुर पुनले बताए । “जाँच गरी किसानले उत्पादन गरेको धान गरेर बीउ प्रशोधन गर्ने गरेका छौँ,” उनले भने ।

किसानले उत्पादन गरेको बीउ सहकारीले धानको भन्दा २५ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेको छ । धानको बीउ नपाइने, गुणस्तरीय नभएकाले नउम्रिने तथा उत्पादन कम हुनेजस्ता समस्याबाट अहिले किसान मुक्त भएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष रमेशकुमार बर्माको भनाइ छ । किसान गाउँमै बीउबिजन प्रशोधन केन्द्र स्थापना भएपछि खेती गरेर मनग्य आयआर्जन गरिरहेका छन् ।

यहाँबाट उत्पादित राधा–४ जातको धानको बीउ जानकी र खजुरा गाउँपालिकाका किसानलाई बिक्री वितरण गरिन्छ । एग्रोभेट व्यवसायीले समेत खुल्ला रुपमा बीउ बिक्री गर्छन् । उत्पादित बीउको आधा प्रतिशत सहकारीमा आबद्ध कृषक सदस्यले खपत गर्छन् । बाँकी रहेको बीउ बिक्री वितरण गरिन्छ ।