नवलपरासी। समयमै चिनी मिल सञ्चालन नहुँदा नवलपरासीका उखु उत्पादक किसान मारमा परेका छन् । चारमध्ये सञ्चालित दुई मिलले पनि खरिदका लागि आनाकानी गर्दा उखु खेतमै सुक्न थालेको छ । उद्योग सञ्चालक चिनीको मूल्यवृद्धि नगरेसम्म सरकारले तोकेको मूल्यमा उखु किन्न नसक्ने अडानमा छन् ।
नवलपरासीमा इन्दिरा, लुम्बिनी, बागमती र मोहीनी गरी चार वटा ठूला चिनी उद्योग छन् । जसमध्ये अहिले इन्दिरा र बागमती मात्रै सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योगले पनि समयमै नलिँदा उखु खेतमै सक्नु थालेपछि किसान चिन्तित भएका हुन् ।
सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५ सय ३६ रुपैयाँ तोकेको छ । तर, उद्योग सञ्चालक त्यो मूल्यमा पनि उखु किन्न आलटाल गरिरहेका छन् ।
चिनी यद्योगले अघिल्लो वर्षको पनि करिब पाँच करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ । यस वर्ष पनि समयमै उद्योगले उखु नलिँदा किसान दोहोरो मारमा परेका हुन् ।
उखु सुक्दा घट्ने तौल र सरकारले तोकेको मूल्य पनि नदिने उद्योगीको प्रबृत्तिका कारण किसान खर्च पनि नउठ्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले राष्ट्रिय बाली घोषणा गरेपनि सोअनुसारको नीति नलिनु र सरकारको निर्णय उद्योगीले नटेर्नुले किसान निरन्तर मारमा पर्दै आएका छन् ।
चिनीको मूल्यवृद्धि नभएसम्म सरकारले निर्धारण गरेको मूल्यमा उखु किन्न नसक्ने उद्योगीको भनाइ छ । पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती हुन्छ । पश्चिम नवलपरासीमा वार्षिक करिब १८/२० लाख क्विन्टल उखु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।