बाँके। बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३ का कृषक पदम रानाले बिर्सिएको छैन । रुपैडियाको तरकारी तथा फलफुल किनेरै साँझ–बिहानको छाक टार्ने रानाको खेतबारीमा आज भोलि भने बाह्रै्मासे तरकारी फल्छ । उनी आफूले फलाएको तरकारी खानको लागि मात्र प्रयोग गर्दैनन् ।

उत्पादन भएको तरकारी स्थानीय बजारमा बिक्रीसमेत गर्दै आएकोछ । वार्षिक तीन हजार क्विन्टलभन्दा बढी तरकारी बिक्री गर्ने गरेको राना बताउँछन् । कृषक रानामात्र नभएर खजुरा गाउँपालिकाका–८ वटै वडामा व्यावसायिक तरकारी खेती, कुखुरा, भैंसी, गाईन, बङ्गुर, बाख्रा, हाँस, माछापालनसहित विभिन्न फलफूल खेती पनि हुँदै आएको छ ।

अधिकांश किसानले व्यवसाय दर्ता गरेरै कृषि कर्म गरिरहेका छन् । कृषि उत्पादन बढ्दै जाँदा अहिले रुपैडियाबाट तरकारी तथा फलफूल बिक्री गर्न आउने क्रम रोकिएको छ । खजुराका स्थानीयले आफू र परिवारलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा माछा मासु आफैँ उत्पादन गर्न थालेका हुन् । खजुराका किसानले उत्पादन गरेको तरकारी, फलफूलदेखि मासु, दुध, अण्डासम्म खजुरा बजार, नेपालगञ्ज, कोहलपुर, बर्दिया, सुर्खेतसम्म निर्यातसमेत हुँदै आएको छ ।

खजुरा गाउँपालिका–४ डी गाउँका राजेन्द्र श्रेष्ठले पाँच हजार बढी लेयर्स कुखुरापालन गर्दै आएकाछन् । श्रेष्ठले जस्तै डी गाउँका एक दर्जन युवा कुखुरापालन गरेर आत्मनिर्भर बनेका छन् । खजुरा गाउँपालिका–३ मनकामनापुरमा प्रत्येक घरमा ४÷५ वटा उन्नत जातका गाईपालन गेकाछन् भने अधिकांशले व्यवसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् ।

खजुरा–२ सितापुर तरकारी र फलफूल उत्पादनमा जिल्लामै अग्रस्थानमा रहँदै आएको छ । यहाँका किसानले सिजनमा २५ हजार क्विन्टल बढी गोलभेंडासमेत बिक्री गर्ने गरेका छन् । त्यस्तै आलु, काउली, भाण्टा, खुसार्नी, लौका, चिचिण्डा, बोडी, करेलालगायतका तरकारी नेपालगञ्ज, कोहलपुरका बजारमा बिक्रीका लागि लैजाने गरेको सितापुरका किसान वीरेन्द्र मुराउले बताए ।

किसानले दूग्ध विकासमा टेवा पुग्ने गरी पनि दूग्ध उत्पादनलाई वर्षेनी वृद्धि गर्न व्यावसायिक पशुपालन गर्दै आएको खजुरा–३ मनकामनापुरका काशीराम कँडेलले बताए । खजुरा क्षेत्रमा साविकको जिल्ला कृषि विकास कार्यालय, किसान परियोजना, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहकार्यमा विभिन्न शीर्षकमा आधुनिक कृषि उत्पादनलाई बढुवा दिइएको छ ।

किसानलाई सक्षम बनाउन आइपिएम तालीमसमेत दिइएको छ । किसानलाई अग्र्रानिक तरकारी उत्पादन गर्न सहयोग गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने, सोलार पम्प जडान गर्ने, व्यावसायिक तेल उत्पादनमा सहयोग गर्नेदेखि लिएर विदेशबाट फर्केर आएका युवालाई मागमा आधारित अनुदान दिने कार्यक्रम रहेको कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिए ।

गाउँपालिकाले मिश्रित बालीको लागि पनि अनुदानको कार्यक्रम ल्याएको ठाकुरले बताए । व्यावसायिक रुपमा कृषि पेशा गर्न चाहने किसानलाई खजुरा गाउँपालिकाले पनि सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनले भने, “हामीले पहिलो वर्षमै साना किसानका लागि बीउबिजनका रुपमा रु पाँच लाख वितरण गरेका थियौँ ।’ अध्यक्ष कक्षपतिले केही वडालाई नमूना कृषि वडाका रुपमा विकसित गर्न लागिएको बताए ।

प्रदेश नं ५ को कृषि, भूमि तथा सहकारी मन्त्रालयसँग समन्वय गरेर वृहत योजना ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ । हाल खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेमौसममा पनि अन्य स्थानमा निर्यात गर्न सक्ने गरी वृहत योजना ल्याउन लागिएको अध्यक्ष कक्षपतिले बताए । कृषि उत्पादनमा वृद्धि भैइरहेकाले यहाँ किसान आत्मनिर्भर भएर राम्रो आर्थिक आम्दानी गरिरहेका छन् ।