ललितपुर। सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्। गत वर्ष साउन २६ गते तत्कालिन भूमि सुधारमन्त्री गोपाल दहितले कृषियोग्य जग्गाको खण्डिकरणमा रोक लगाउने निर्णय गरेका थिए।

कित्ताकाट रोक्ने निर्णयपछि ६ महिनाभन्दा लामो अदालती प्रक्रियामा अल्झिएको यो निर्णय गत वर्ष फागुन १ गते सर्वोच्चको पूर्ण फैसलापछि सुल्झिने अपेक्षा गरिएको थियो। तर सर्वोच्चको पूर्ण फैसला भएको झण्डै ११ महिनापछि मात्र यसले निकास पाउन लागेको हो।