दाङ। दाङमा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० देखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो ।

‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरू हुने महोत्सवबारे महोत्सव मूल आयोजक समिति एवम् सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङले हालै घोराहीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

महोत्सव सञ्चालनका लागि कानूनी प्रक्रिया पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले बताए । घोराहीको कृषि सामग्री कम्पनीको मैदानमा हुने महोत्सवमा ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

महोत्सवमा कृषिसम्बन्धी ८० देखि १ सयसम्म स्टल रहने आयोजकले जानकारी दिएको छ ।