ललितपुर। रैथाने जातका बिऊहरु नष्ट गर्ने, किसानलाई महँगोमा बिऊ किन्न बाध्य पार्ने कुटिल सोचका कारण मुलुक दिनप्रतिदिन तरकारीको बिऊमा परनिर्भर बन्दैं गएको छ ।

एकचोटी रोपेपछि अर्को चोटी नउम्रर्ने बिऊहरु वितरण गर्ने र हरेकसाल किसानले बजारबाट आयातित महँगो बिऊ किन्नपर्ने अवस्थाले गर्दा तरकारीको बिऊको आयात मात्रै ७५ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांक अनुसार तरकारीको बिऊको आयात मात्रै रु. २८ करोड नाघेको छ जब कि अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा रु. १६ करोडको मात्र तरकारीको बिऊ आयात भएको थियो ।

स्वदेशका तरकारी उत्पादन कृषकहरुलाई करको बोझ थपेर तरकारीको बिऊ उत्पादनमा निरुत्साहित गर्ने र विदेशी बहुराष्ट्रिय कम्पनीहरुको महँगो बिऊ किसानलाई किन्न बाध्य पार्दा यसरी तरकारीको बिऊ आयातमा भारी वृद्धि भएको हो ।

रैथाने जातको बिऊ पुरै प्रतिस्थापन गरी आयातित बिऊमा मुलुकलाई पूर्ण परनिर्भर बनाउन कृषि क्षेत्रका नीतिनिर्माताहरु लागि परेका छन् । कृषिको आधुनिकीकरणका नाममा कथित उन्नतजातको बिऊ वितरण गर्ने र रैथाने बिऊ प्रतिस्थापन गर्ने रणनीति एकैसाथ कार्यान्वयन हुँदैछ । रैथाने बिऊ पुरै प्रतिस्थापित गरिसकेपछि एक केजी बिऊ किन्न पनि बैंकको ऋण लिनुपर्ने अवस्था सिर्जना गर्ने सोचले काम गरिरहेको छ ।

यही परीस्थिति कायम रहेमा केही वर्षभित्र तरकारीको बिऊमा मुलुक पूर्णतया परनिर्भर हुने देखिन्छ ।