बैतडी। परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् बैतडीको सुर्नया गाँउपालिका–६ मोतिनगर रौटेका पदमराज भट्ट ।

पछिल्लो समयमा युवाहरु विदेश गइरहेका बेला पदमले भने स्वदेशमा नै नाम र दाम कमाइरहेका छन् । भट्टले तरकारी खेतीबाटै मनग्गे आम्दानी गरीरहेका छन् । पदरमराज जिल्लाकै एक कुशल युवा उद्यमीको रुपमा स्थापित भएका छन् । मध्यम वर्गिय परीवारमा जन्मेका पदमले भारतको देहरादुनबाट आइएस्सी पास गरेका हुन् ।

उनलाई बुवा कृष्णानन्द भट्टले पढाई गर्नका लागी भारतको देहरादुन पठाउनुभएको हो । पदमका बुवा कृष्णानन्दलाई छोरालाई उच्चशिक्षा हासिल गराई राम्रो जागीर लागेको हेर्ने धोको थियो । तर, आइएस्सी पास गरेर वि।स २०७० सालमा घर फर्किएका पदमले तरकारी खेति गरेर बस्ने भनेपछि घरपरिवार र गाँउलेहरु सबै अचम्मीत भएर यसले के तरकारी खेती गरेर खान्छ भनेको कुरा उनले सम्झिए ।

पदमराजले अहिले तरकारी खेतिबाटै वार्षिक १५ लाख बढी कमाउँछन् । सुरुमा बुवाले पदमलाई खेतमा तरकारी लगाउन खेत समेत दिएका थिएनन् ।

मकै फल्ने खेतबारी तरकारी रोप्न नदिने भनेपछि पदमले बुवालाई ३ रोपनि जमिन ३ हजार रुपयाँ भाडा तिर्ने सर्तमा लिएका थिए । उहाले त्यो जग्गामा बन्दागोबी रोपेर त्यहि बन्दाबाट ५४ हजार रुपँया आर्जन गरेको र बुवालाई भाडा तिर्न ३ हजार रुपयाँ लगेर गएपछि उल्टै बुवा कृष्णानन्दले काममा सफल भएको भन्दै खुसी भएर ३ हजार थपेर ६ हजार दिएको उनले बताए । बुवाले थपेर दिएको पैसाले त पदमको हौसला झन बढ्यो । पहिलो खेतिबाट राम्रो कमाई गरेका पदमले दोश्रो बर्ष ८ रोपनी जमिनमा बन्दा रोपे ।

यसपाली उनलाई परिवारको पनि साथ मिल्यो ५ महिनामै परिवारलाई ३लाख रुपँया दिएका पदमले तेश्रो बर्ष तरकारी बाटै ८ लाख रुपँया आर्जन गरेको छ । हरेक बर्ष उनले बन्दा, काउली, टमाटर, मुला र पालुंगो लगायत सबै प्रकारको तरकारी उत्पादन गरेर बेच्न थालेपछि परीवारका सदस्यहरु खुसी भएका छन् ।

तरकारी खेतिका साथै पदमले बाख्रापालन पनि गरीरहेका छन् । अहिले पदमले तरकारी खेती बाख्रापालन व्यवसायबाट वार्षिक १५ लाख रुपयाँ कमाई गर्छन् । उनले खसि बेचेरै हरेक वर्ष १ लाख बढी कमाउने गरेका छन् ।

गतसाल पदमले १ लाख २० हजार आर्जन गरे भने यस वर्ष १ लाख १० हजार कमाएको र अहिले पनि ३० भन्दा बढी खसि बाख्रा रहेका छन् । यही पेशा गरेर उनले तराइमा जमिन समेत किनेका छन् ।

पदमलाई नमूना उद्यमीको रुपमा विभिन्न कार्यक्रमहरुमा समेत बोलाउने गरिएको छ । धेरै कार्यक्रमहरुमा उनले आफ्नो कथा सुनाइसकेका छन् । जिल्लाका विभीन्न ठाँउमा पुगेर आफुले जानेको र सिकेको सिप पनि सिकाइरहेको उनले बताए ।

‘आफुसंग इच्छाशाक्ति भएरपछि विदेश जान पदैन् ।’ उनले भने–‘मेहनत र लगनशिल भएर काम गरे स्वदेशमै राम्रो पैसा कमाउन सकिन्छ ।’ अहिले पदमको प्रगती देखेर गाँउका अरु पनि तरकारी पेसामा आबद्ध भएका छन् ।