झापा। नेपालमा १० वर्ष भित्र ३० हजार हेक्टरमा रबरको खेती हुने भएको छ । यसका लागि प्रदेश नम्बर १ मा संझौता भैसकेको छ भने कर्णाली प्रदेशको १५ हजार विगाहामा रबर खेतीको लागि संझौता हुने क्रममा रहेको छ ।

प्रदेश १ मा रबर खेतीको बारेमा अध्ययन भैरहेको छ ।स्वदेश मै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै टायरका लागि मुलुकबाट बर्षेनि ठूलो रकम बिदेसिने गरेको छ । तर, अबको १० वर्षपछि भने नेपालले उत्पादन गरेको रबर अमेरिका निर्यात हुने बताइएको छ ।

सरकारले रबर खेती गर्ने किसानलाई अनुदान सहयोग समेत गर्दै आएको छ । हाम्रो देशको वातावारणपनि रबर उत्पादनका लागि अनकुल रहेको छ । नेपालमा वार्षिक १५ अर्बभन्दा बढीको रबरको माग रहेको छ । मुलुक भित्र उत्पादित रबरले ५ प्रतिशत हिंसा मात्र ओगट्दै आएको छ ।

हाल नेपालमा १ हजारको हाराहारीमा साना रबर कृषक र ५० वटा ठूला कम्पनीले व्यवसायिक रबर खेती गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हेमराज ढकालले भने– ‘नेपालले चिया खेती जसरी नै रबर खेतीका लागि काम गरिरहेको छ ।’ विश्वमा पेट्रोलियम पदार्थपछि रबरको बजार माग छ । १० वर्ष पछि नेपालले उत्पादन गरेको रबर अमेरिकाले निर्यात गर्छ–महासंघका सदस्य ढकालले बताए ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४-७५ मा १० अर्ब ५४ करोड ३८ लाख ७४ हजार ८९६ रुपैयाँ बराबरको टायर नेपाल भित्रिएको छ । नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रन्छ । नेपाली टायर बजारमा पनि भारतकै वर्चश्व छ ।

रबर कसरी बनाइन्छ ?
रबरको बिरुवा रोपेको ७ वर्षपछि कच्चा पदार्थ दिन थाल्छ । एउटा बिरुवाले २५ वर्षसम्म निरन्तर आन्दानी लिन सकिने कृषकहरुको भनाई छ । रबरको रुखबाट दिन बिराएर चोप निकाल्न सकिन्छ । एउटा रुखबाट बार्षिक ८ देखि १० लिटरसम्म कच्चा पदार्थ निकाल्न सकिन्छ । रबरको कच्चा पदार्थ प्रति लिटर २ सय रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । साना कृषकहरुले आधुनिक प्रबिधिको अभावमा रबरको रुखबाट आउने चोपलाई धुँवामा सुकाएर रबम बनाइदै आएको छ ।

सुरुमा रुखको २० इन्च गोलाइ र १ सय ३० सेन्टीमेटिरको दुरीमा बोक्रा काटिन्छ । त्यहाँबाट दूध जस्तै चोप आउँछ । त्यसमा थोरै एसिड हालेर त्यो चोप जमाइन्छ । अनि फ्याक्ट्रीमा लगी क्रेम मेशिनमा हालेर रबर तयार पारिन्छ ।

रबर खेतिका लागि लागि २१ देखि ३५ डिग्री सेल्सियस तापक्रम उत्तम मानिन्छ । समुन्द्री सतहबाट ४ सय ५० मिटर उचाइ र वार्षिक २ हजार देखि ३ हजार मिलिलिटर सम्म पानी पर्ने ठाउँमा यसको खेती गर्न सकिन्छ ।

रबरले ३ हजार भन्दा बढी आइटम बनाउन सहयोग गर्छ । एउटा गाडीमा मात्र रबरको ६० वटा आइटम चाहिन्छ । त्यस्तै अन्य हरेक सामान बनाउन रबरको आवश्यकता पर्दछ । रबरको रुखले उत्पादन दिन छाडेपछि त्यो रुखको काठ पानी जहान बनाउने काममा उपयोग हुन्छ र महङ्गो मूल्यमा विदेश निर्यात गर्न सकिने बताइएको छ ।