ललितपुर। यो बर्षको पहिलो पाँच महिनामा करिब ९० अर्ब रुपैयाँबराबरको कृषिजन्य बस्तुको आयात भएको छ ।

गत् साउनदेखि मंसिरसम्ममा ८९ अर्ब ४० करोड रुपैयाँबराबरको कृषि बस्तु आयात भएको हो । पाँच महिनाको कूल आयातको हिस्सामा कृषिजन्य बस्तुको आयात दरले १५ प्रतिशत हिस्सा ओगटेको छ । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपीसी) ले सोमबार पाँच महिनाको वैदेशिक ब्यापारको तथ्याँक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

टिइपीसीकाअनुसार पाँच महिनाको अवधीमा समष्टिगत रुपमा सबैभन्दा बढी खाद्यान्नको आयात भएको छ । अघिल्लो आर्थिक बर्षको पहिलो पाँच महिनाको अवधीमा अहिलेको पाँच महिनामा २८ प्रतिशतले बृद्धि भएर खाद्यान्न(चामल, गहुँ, मकैं, कोदो) मात्रै २१ अर्ब ३४ करोड ९७ लाख रुपैयाँबराबरको नेपालमा आयात भएको छ ।

तथ्याँकअनुसार ४२।६ प्रतिशतले बृद्धि भएर चामल मात्रै १३ अर्ब ५८ करोड रुपैयाँबराबरको आयात भएको छ । यही बर्ष नेपालको इतिहासमा नेपालमा सर्वाधिक अर्थात ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै ३५.४ प्रतिशतले बृद्धि भएर २ अर्ब ३९ करोड ७१ लाख रुपैयाँको गहुँ आयात भएको छ । मकै भने ५ अर्ब १९ करोड ११ लाखको आयात भएको छ ।

यस्तै १६.२ प्रतिशतले बृद्धि भएर ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँको तरकारी, ३९.८ प्रतिशतले बृद्धि भएर ५ अर्ब ७१ करोड ६० लाखको फलफूल, १०.७ प्रतिशतले बृद्धि भएर दाल पनि आयात भएको छ ।

११ अर्बको मात्रै निर्यात :
यो बर्षको गत् साउनदेखि मंसिरसम्ममा नेपालबाट भारतसहित तेश्रो मुलुकमा भने जम्मा ११ अर्ब ४३ करोड ५३ लाख रुपैयाँबराबरको कृषिजन्य वस्तुको निर्यात भएको छ ।

जसअनुसार सबैभन्दा बढी चिया निर्यात भएको छ । यो अवधीमा १ अर्ब ९३ करोडको चिया निर्यात भएको छ । यस्तै १ अर्ब ८६ करोड ९८ लाखको जुस, १ अर्ब २३ करोड ६७ लाखको अलैंची, ६५ करोडको दाल, ६४ करोडको जडिबुटी, २७ करोडको अदुवा र १२ करोड ५० लाखको मासु तथा मासुजन्य पदार्थ निर्यात भएको छ ।

कूल आयात ६ खर्ब ७ अर्ब :
साउनदेखि मंसिरसम्ममा नेपालमा अघिल्लो बर्षको यही अवधीको तुलनामा ३४ प्रतिशतले बृद्धि भएर कूल ६ खर्ब ७ अर्बको बस्तु नेपालमा आयात भएको छ । ३२.३ प्रतिशतले बृद्धि भएर ६ खर्ब ४४ अर्बको कूल वैदेशिक ब्यापार भएको छ । यसमा आयातको हिस्सा ९४.२ र निर्यातको हिस्सा ५.८ प्रतिशत छ । यो अवधीमा विभिन्न मुलुकमा कूल ३७ अर्ब ५० करोडको नेपाली उत्पादन विभिन्न मुलुकमा निर्यात भएको छ ।