ललितपुर। १४औं योजनाले गत आर्थिक वर्ष (आव) २०७४/७५ सम्मका लागि कृषि उत्पादनतर्फ तोकेको वार्षिक लक्ष्यमध्ये ५ कृषि उपजमा लक्ष्य प्राप्त भएको छ । सो योजनामा १३ प्रमुख कृषि उपजको वार्षिक लक्ष्य निर्धारण गरिएको छ । बाँकीमध्ये पाँच उपजमा चालू आवमा लक्ष्य प्राप्त हुन सक्ने र तीनबाट हुन नसक्ने प्रतिवेदन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार धान, तरकारी, तेलहन र उखुमा लक्ष्य प्राप्त भएको छ । तर, अण्डाको उत्पादन स्थितिलाई हेर्दा लक्ष्य पूरा हुने उल्लेख छ । मन्त्रालयका अनुसार अण्डाको उत्पादनसम्बन्धी गत आवको तथ्यांक सबै आइसकेको छैन । प्रतिवेदनमा गहुँ, मकै, आलु, दूध र माछा उत्पादनमा लक्ष्य पूरा हुन सक्ने सम्भावना देखाइएको छ । पलफूल, दलहन र मासुमा भने लक्ष्य पूरा हुन सक्ने स्थिति देखिँदैन ।

कृषि उपजको प्रकृति हेरेर लक्ष्य प्राप्त हुन सक्ने र नसक्ने सम्भाव्यता प्रस्तुत गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तेजबहादुर सुवेदीले बताए । ‘लक्ष्य र उत्पादनको फरक १ लाख २५ हजार मेट्रिकटन भएको गहुँमा लक्ष्य प्राप्त हुन सक्ने भनिएको छ भने फरक ४१ हजार मेट्रिकटन मात्रै रहेको दलहनमा लक्ष्य प्राप्त हुन नसक्ने भनिएको छ,’ उनले भने, ‘यसो हुनुमा गहुँ बाली लगाइने क्षेत्रफल धेरै छ, जहाँ मल, सिँचाइ लगायतको राम्रो व्यवस्था गर्नसके उत्पादन बढ्न सक्छ तर दलहन बाली लगाइने क्षेत्रफल नै कम रहेकाले सम्भावना नदेखिएको हो ।’

यसरी हेर्दा प्रस्तुत प्रतिवेदनले आगामी दिनमा कृषि उत्पादनको कुन क्षेत्र अर्थात् बालीमा जोड दिँदा बढी लाभ लिन सकिन्छ भन्ने कुरालाई पनि मार्गदर्शन गरेको छ । चालू आवको बजेटमा ५ वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिइएको छ ।

यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत लागू गरिएको छ । त्यसैगरी १० वर्षमा देशलाई फलफूलमा आत्मनिर्भर बनाई निर्यातसमेत गर्ने लक्ष्यका साथ आव २०७२/७३ देखि फलफूल दशक अभियान निरन्तर छ ।

धान उत्पादन सबैभन्दा अगाडि :
१३ ओटै उपजमध्ये गत आर्थिक वर्षमा धान सबैभन्दा बढी (४ लाख १२ हजार मेट्रिकटन) उत्पादन भएको छ । गत आवसम्ममा ५१ लाख ९८ हजार मेट्रिकटन धान उत्पादनको लक्ष्य लिइएकोमा ५६ लाख १० हजार मेटन उत्पादन भएको तथ्यांक छ । चौधौं योजनाको अन्त्यसम्ममा ५५ लाख ६१ हजार मेटन धान उत्पादनको लक्ष्य राखिएकोमा गत आवमै लक्ष्यभन्दा ४९ हजार मेटन बढी उत्पादन भइसकेको छ ।
चालू आवमा धान बाली लगाइएको क्षेत्रफल पनि २० हजार हेक्टर बढेको प्रतिवेदनमा उल्लेख छ । धानको उत्पादकत्व पनि यो वर्ष सुधार भएको देखिन्छ । अघिल्लो आवमा प्रतिहेक्टर ३ दशमलव ५ मेटन रहेको उत्पादकत्व गत आवमा बढेर ३ दशमलव ७६ मेटन पुगेको छ, यसले उत्पादकत्व ७ प्रतिशतले वृद्धि भएको देखाउँछ ।