ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाएर करिब एक करोड रुपैयाँ घोटाला गरेको अभियोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका १३ कर्मचारीबिरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार बिशेष अदालत काठमाडौं उक्त कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार दैलेखका किसानलाई विभिन्न वालीको बीउको पोका वितरण गरेको नक्कली र फर्जी कागजात बनाएर जिल्ला कृषि विकास कार्यालय दैलेखका १३ जना कर्मचारीले रकम घोटाला गरेका हुन् ।

कृषि विकास कार्यालय दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा। नरहरीप्रसाद घिमिरेसहितको १३ जना कर्मचारीले ठेक्केदारसँग मिलोमतो गरी बदनियतपूर्वक बीउको पोका खरिद नै नगरी खरिद गरेको भन्दै ढुवानीसमेत गरेको नक्कली बील बनाएर रकम घोटाला गरेका हुन् । सरकारी रकम हिनामिना गरेको अभियोगमा प्रमुख अधिकृत घिमिरेसहित १३ जनामाथि मुद्दा दायर गरिएको हो ।

कसले कति हिनामिना गरे ?
प्रवक्ता दंगालकाअनुसार घिमिरेमाथि १० लाख ५० हजारको विगो कायम गरी मुद्दा दायर गरिएको छ । यस्तै वागवानी विकास अधिकृत सूर्यनाथ योगीमाथि १८ लाख ३६ हजार, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापामाथि १० लाख, लेखा अधिकृत ढालबहादुर हमालमाथि १२ लाख ४६ हजार, प्राविधिक सहायक गमानसिंह थापामाथि २ लाख २४ हजार, वागवानी विकास अधिकृत भुवनबहादुर मल्लामाथि ७३ हजार, नायव सुब्बा नमराज थापामाथि ८ लाख १२ हजार, लेखापाल रामकुमार साहमाथि १६ लाख ९१ हजार, प्राविधिक सहायक मिनबहादुर शाहीमाथि १ लाख ७५ हजार, नायव प्राविधिक सहायक रगबहादुर वपालमाथि ३९ हजार, प्राविधिक सहायक पूर्णवहादुर थापामाथि ३ लाख ४८ हजार, जिल्ला समन्वय समिति दैलेखका सञ्चालक तथा सब इन्जिनियर रामप्रसाद शर्मामाथि १० लाख २७ हजार र ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीमाथि २२ हजार रुपैयाँ कायम हुने गरी मुद्दा दायर गरिएको छ ।