ललितपुर। प्रत्येक वर्षको जनवरी १ तारिकका दिन मनाइँदै आएको पोल्ट्री दिवस यस वर्ष विशेष रुपमा मनाइने भएको छ । पशु सेवा विभागले यस वर्षको पोल्ट्री दिवस विशेष समारोह झापाको दमकमा आयोजना गर्ने भएको हो । विभाग र पोल्ट्री व्यवसायी महासंघको आयोजनामा दमकमा छैटौं पोल्ट्री दिवस मनाउने निर्णय भएको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन कार्यालय चपलीमा सोमबार विभागका महानिर्देशक विमलकुमार निर्मल, महासंघका अध्यक्ष गुणचन्द्र विष्टलगायतको उपस्थितिमा महासंघ र प्राविधिकहरुको छलफलले यस्तो निर्णय गरेको हो ।

दिवस आवश्यक तयारीका लागि विभागका रुद्रप्रसाद पौडेलको संयोजकत्वमा सरोकारवाला निकायको प्रतिनिधित्व रहने गरी ४ सदस्यीय समिति गठन गरिएको छ । सो समितिले दिवसका अवसरमा झापामा विशेष समारोह आयोजनाको तयारी गर्ने छ । गत वर्ष चितवनमा पोल्ट्री दिवस विशेष समारोह आयोजना गरिएको थियो ।

झापामा नयाँ वर्षको अवसर पारेर चिकेन फेस्टिबलको आयोजना गर्न लागिएकोले सोही स्थानमा पोल्ट्री दिवस विशेष समारोहसमेत आयोजना गर्न सहज हुने विभागको निष्कर्ष छ । यसअघि नै झापाका पोल्ट्री व्यवसायीले पुसको १७, १८ र १९ गते दमकमा अन्तर्राष्ट्रिय स्तरको चिकेन फेस्टिवल आयोजना गर्ने तयारी गरेका थिए ।

दिवसलाई उपलब्धीमूलक बनाउन आग्रह :

पछिल्लो समय नेपाल पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर बन्दै गएकोले यो दिवसको महत्व झनै बढेको विभागअन्तर्गतका कर्मचारी, प्राविधिक तथा व्यवसायीहरुले बताएका छन् । ‘दिवसलाई दिवसका रुपमा मात्रै नमनाउँ,’ अध्यक्ष विष्टले भने, ‘उपलब्धीमुकल बनाऊँ ।’

हाल संघीय संरचनाअनुसार सातै प्रदेशमा पशु सेवा विभागका संरचना रहेका र जिल्ला जिल्लामा सरकारी तथा व्यवसायीका संगठनात्मक संरचनाहरु रहेकाले जिल्ला र प्रदेश स्तरमा पनि छुट्टाछुट्टै कार्यक्रम गरी मनाउन सुरु गर्नुपर्ने उनले बताए ।

नेपालका पोल्ट्री र यससँग सम्बन्धित आवश्यक जानकारी र सचेतना दिन दिवस सहयोग हुनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए । २०१४ जनवरी १ ,(२०७० पुस १७) देखि नेपालमा हरेक वर्ष पोल्ट्री दिवस मनाइँदै आएको छ । पहिलो पोल्ट्री दिवस चितवनमा मनाइएको थियो ।