ललितपुर। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले पशुपक्षीको दाना उत्पादन गर्ने उद्योगको तत्काल अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सो सम्बन्धी कार्यदलको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राधा ज्ञवालीले पशुपक्षीको दानामा मित्रुजीवनाषक औषधि (एन्टिबायोटिक) को प्रयोग भएको गुनासो आएकाले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

कृषि नियमावली २०५१ ले दानाको गुणस्तर मापन गर्ने जिम्मेवारी खाद्य तथा गुण नियन्त्रण विभागलाई सुम्पिएको छ । पशुपक्षी विभागका निर्देशक डा विमलकुमार निर्मलले एन्टिबायोटिक प्रयोग भएका दाना खाएका पशुपक्षीले दिने दूध, मासु र अण्डा खादा मानव शरीरमा प्रतिकूल असर पर्ने बताउँछन् । “त्यसले मानिसको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति ह्रास हुनका साथै रोग निको पार्न तोकिएको मापदण्डभन्दा बढीको एन्टिबायोटिक प्रयोग गर्नुपर्छ,” उनी भन्छन् ।

विभागका अनुसार नेपालमा विभिन्न थरीका झण्डै १६ अर्बभन्दा बढीको औषधि आयात हुन्छ । दाना उद्योगले एक वर्षमा तीन लाख ९१ हजार मेट्रिक टन मकै र तीन लाख ८६ हजार मेट्रिक टन गहुँको चोक्कर र चामलको कनिका आयात गर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा दैनिक चार हजार मेट्रिक टन दाना खपत हुन्छ । यहाँ दाना बनाउने उद्योगको सङ्ख्या १०५ रहेको छ ।

समितिका सदस्य घनश्याम खतिवडाले दाना ऐन संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दे पशुपक्षीको दानाको गुणस्तर नियमन गर्ने जिम्मेवारी पशुसेवा विभागलाई दिनुपर्ने भए सोहीअनुसार परामर्श र छलफल गर्नुपर्ने बताए ।

नेपाल पशु चिकित्सा परिषद्ले–समितिसमक्ष औषधि ऐन, भेटेनरी औषधिको गुणस्तर नियमन गर्ने जिम्मेवारी भेटेनरी डाक्टरलाई, पशु, पशुजन्य पदार्थ र पशुपक्षी दाना, खोप, औषधिको गुणस्तर नियमन दाना ऐन, पशुपक्षी दाना गुणस्तर नियमनको जिम्मेवारी पशुसेवा विभाग र भेटेनरी औषधिको गुणस्तर नियमन गर्ने जिम्मेवारी भेटेनरी डाक्टरलाई उपलब्ध गराउनुपर्ने माग गरेको छ ।