धनगढी। कैलालीका सहकारी संस्थाले सरकारको अनुदानको रासायनिक मलको मूल्य मनोमानी ढंगले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोबारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढंगले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिएका हुन् ।

कर्पोरेसनको अनुगमन टोलीले दुई दिनअघि कैलालीका धनगढी उपमहानगरपालिका, भजनी नगरपालिकाका साथै बर्दगोरिया, जोशीपुर र कैलारी गाउँपालिकामा सरकारी अनुदानको मलको कारोबार गरिरहेका सहकारी संस्था एवं कृषक समूहको कारोबारबारे स्थलगत अनुगमन गरेको थियो ।

स्थानीय तहको सिफारिसमा साल्ट ट्रडिङ कर्पोरेसनले सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । सहकारी संस्थाले किसानलाई यो मल बिक्री गर्दै आएका छन् ।

अनुदानको रासायनिक मलको बिक्री मूल्य सहकारी संस्थापिच्छे फरकफरक रहेको पाइएको अनुगमन टोलीको नेतृत्व गरेका सहायक महाप्रबन्धक पाण्डेले जानकारी दिए । ‘५० किलोको अनुदानको युरिया मल प्रतिबोरा बढीमा ९ सय रुपैयाँमा बेच्नुपर्नेमा ९५० रुपैयाँमा बिक्री गरेको पाइएको छ,’ पाण्डेले भने ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकमा जिल्लाभरि नै ५० किलोको प्रतिबोरा युरिया ९ सय, डीएपी २ हजार ४ सय र पोटास १ हजार ८ सयमा बिक्री गर्नुपर्ने अनौपचारिक सहमतिविपरीत सो मलको मनोमानी मूल्य वृद्धि गरिएको पाण्डेले बताए ।

मलको मूल्यमा एकरूपता नभएको, ५० किलोभन्दा घटी परिमाणमा मल खरिद गर्न चाहनेले मल नपाउनेजस्ता कारणले लक्षित सानाकिसानले मल नपाउने, मलको अभाव हुनेलगायतका समस्या सिर्जना हुने गरेको बताइएको छ ।

मलको मूल्य मनोमानी ढंगले वृद्धि गरेर किसानलाई बिक्री गर्ने गरेको भए पनि मूल्यमा एकरूपता कायम गर्नमा स्थानीय तह उदासीन देखिएको गुनासो किसानले गर्न थालेका छन् । कर्पोरसनले गएको साउनदेखि मंसिरसम्म सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहले गरेको सिफारिसका आधारमा सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानको युरिया मल २० हजार ९९७ बोरा, डीएपी २५ हजार ९३८ बोरा र पोटास २ हजार १०६ बोरा बिक्री गरेको छ ।

त्यस्तै, गैरअनुदानित एसएसपी सादा प्रतिबोरा ६ हजार ९२६, एसएसपी जिंक प्रतिबोरा २ हजार ७७७, एसएसपी बारोन प्रतिबोरा ९७८ बोरा र एसएस प्रतिबोरा ७९३ बिक्री गरेको जनाएको छ ।

परिपत्रको पालना भएन :

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गएको जेठ महिनामा अनुदानको सरकारी मलखाद के कति मूल्यमा बिक्री वितरण भइरहेको छ, त्यसको मूल्य प्रमाणीकरण गरी पठाइदिन स्थानीय तहलाई गरेको परिपत्रको अहिलेसम्म पालन नभएको पाइएको कर्पोरेसनका मलखाद फाँटका रामचन्द्र जोशीले बताए ।

केही स्थानीय तहले मन्त्रालयको परिपत्रको पालना गरेको भए पनि अधिकांश स्थानीय तहले मलको मूल्य प्रमाणीकरण गरी नपठाएको देखिएको जोशीले जानकारी दिए ।

कैलाली जिल्लामा अहिले पनि रासायनिक मलखादको अभाव देखिएको छ । मंसिर पहिलो साता गहुँ छरेका किसानलाई यति बेला युरिया मलको अभाव भएको हो । सरकारी अनुदानको मल साल्ट ट्रडिङ र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारी संस्था एवं कृषक समूहमा बिक्री गर्ने गरिएको छ ।