काठमाडौं। एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ८ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने जनाएको छ । त्यस्तै, एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने बैंकले जनाएको छ ।
विपन्न वर्गका जनतालाई सहुलियतपूर्ण कर्जा दिने सरकारी नीतिलाई समर्थन गर्दै बैंकले सात प्रकारका कर्जाहरुमा एउटा नयाँ प्रडक्ट थप गरी विना धितो ८ प्रकारका कर्जा प्रदान गरिने जनाएको छ । ती कर्जाहरु सहुलियतपूर्ण व्याजदरमा बैंकले उपलब्ध गराउने छ ।
बैंकले एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म दिने जनाएको छ ।
त्यसैगरी, बैंकले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७ लाखसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाखसम्म र १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा उपलब्ध गराउने भएको छ ।
त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् ।









