झापा। अर्जुनधारा नगरपालिकामा रहेका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ । नगरले माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि आज शिविर नै सञ्चालन गरेर माटोको नमूना परीक्षण गरेको हो ।

नगरको कृषि विकास शाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा माटो परीक्षण गरिएको नगर प्रमुख हरि रानाले जानकारी दिए ।

नगरपालिकाअन्तर्गतका ११ वटै वडामा खेती गर्दै आएका ७१ जना किसानको जमीनको माटो प्राविधिक विशेषज्ञसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा माटोमा अम्लियपन नभएको र माटोको छारियपन पाइएको माटो विशेषज्ञ हरि भुजेलले बताए ।

भुजेलका अनुसार माटोमा एकदेखि १४ पिएचसम्म अम्लियपनाको मापन गरिन्छ । माटोमा ६.५ देखि ७.६ पिएचसम्मको मात्रालाई ठीक अर्थात् माटोका लागि अनुकूल अम्लीयपना भएको मानिन्छ ।

परीक्षणले क्रममा कतै ४.५ सम्म र कुनै स्थानमा नौ पिएचभन्दा बढीमात्रामा अम्लियपना देखाएको तथ्याङ्क भेटिने गरेको उनले बताए । चालू बर्षदेखि नगरले वडा नं ८ मा कृषि उत्पादन पकेट क्षेत्र मानेर कार्यक्रमसमेत शुरु गरिसकेको छ ।