ललितपुर। निजी कलेजलाई दिइएको सम्बन्धन खारेज गर्न माग गर्दै विद्यार्थी र प्राध्यापकले थालेको आन्दोलनका कारण चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ६ महिनादेखि पठनपाठन ठप्प छ । गत असारदेखि आन्दोलनरत उनीहरूले काठमाडौं आएर दबाबमूलक कार्यक्रम सुरु गरेका छन् ।

विश्वविद्यालय कार्यकारी परिषद्ले असार २० गते सातवटा कृषि र एउटा वन विज्ञान विषयमा स्नातक तहका लागि ८ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।

निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै सुरु आन्दोलनलाई कारण देखाउँदै साउन १४ को मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध निजी कलेज सञ्चालकले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सम्बन्धन यथावत् राख्न आदेश दियो ।

विश्वविद्यालयले कात्तिक २० बाट आंगिकसहित निजी कलेजमा भर्ना थाल्यो । त्यसपछि विद्यार्थी–प्राध्यापकले चर्काएको आन्दोलन जारी छ । यही मंसिर ११ मा निजी कलेजको भर्ना रद्द गरिए पनि विद्यार्थी र प्राध्यापकको आन्दोलन रोकिएको छैन । उनीहरूले सम्बन्धन खारेज गर्नुपर्ने अडान लिएका छन् ।

सम्बन्धन पाएका ८ वटै निजी कलेजका सञ्चालकले सम्बन्धन कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दाको पेसी बुधबारका लागि तोकिएकोमा स्थगित भएको छ ।

पूर्वाञ्चल क्याम्पस झापा, जीविका कृषि कलेज इटहरी, भ्याली स्टेट ललितपुर, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर, ब्राइट मध्यपश्चिम सुर्खेत, हिमछाया क्याम्पस नवलपुर र सिद्धान्त कलेजले सम्बन्धन पाएका हुन् ।