जाजरकोट। नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलैँची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् ।

कृषिप्रधान देशमा कृषिमुखी कार्यक्रम चलाउन सकिए मात्र किसानको आर्थिक जीवनस्तर माथि उठ्न सक्ने भेरी नगरपालिकाका नगरप्रमख चन्द्रप्रकाश घर्तीले बताए । छोटो समयमा राम्रो आम्दानी दिने र निर्यातको पनि राम्रो सम्भावना भएको अलैँची खेतीमा यहाँका कृषकको आकर्षण बढेसँगै स्थानीय सरकारको सहयोग पनि बढ्न थालेको छ ।

यो खेतीले अन्य बाली भन्दा धेरै आम्दानी दिने भएकोले पछिल्लो समय जिल्लाका कृषक यसको खेती गर्न उत्साहित हुन थालेका छन् । भेरी नगरपालिका–१०, स्यालाकी इन्द्रा घर्तीले अहिले ५० रोपनी क्षेत्रफलमा अलैँची खेतीे विस्तार गरी अगुवा किसानको रुपमा स्थापित भएकी छिन् ।

पूर्वी जिल्लाका अलैँची खेतीबाट प्रभावित भई उनले दुई वर्षदेखि यो खेती शुरु गरेकी हुन् । थोरै लगानी र परिश्रम गर्न सके केही वर्षमै लाखाँैको आम्दानी गर्न सकिने उनको भनाइ छ । राम्रो आम्दानी हुने भएकोले व्यावसायिक रुपमा यो खेतीको थालनी गरेको इन्द्राले सुनाइन् । रू. २२ लाखको लागतमा इन्द्राले ५० रोपनी क्षेत्रफलमा अलैंचीे विस्तार गरेकी छिन् । छहरी कृषि फार्म स्थापना गरी पूर्व इलामबाट बिरुवा ल्याएर जिर्मल जातको अलैँची रोपेकी छिन् । जन्म घर सुर्खेत र कर्म घर ताप्लेजुङ भई हाल यहाँ बस्दै आएकी इन्द्राले परम्परागत अन्य खेतीबाली भन्दा अलैँची खेतीबाट धेरै राम्रो आम्दानी गर्न सकिने बताइन् ।

‘नगरपालिकाबाट यो खेतीलाई विशेष सहयोगको आश्वासन पाएको छु,’ उनले भनिन् । अहिले अलैँची उत्पादन शुरु भएको उनले बताइन् । सो फर्ममा एक हजार पाँच सयदेखि दुई हजार क्वीन्टल अलैँची उत्पादन हुनेछ । भेरी नगरपालिकाका विभिन्न वडामा अलाँैची खेती गर्ने किसानको संख्या ह्वात्तै बढेको छ ।

अलैँचीको विस्तारले नगरपालिकाको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने भएकाले नगरपालिकाले विशेष कार्यक्रम लागू गरेको नगरप्रमुख घर्तीले बताए । ‘अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले यहाँका किसानलाई अलैँचीको विरुवा वितरण गरेको हो,’ उनले भने ।

नगरपालिकाले त्यस क्षेत्रमा कृषि उत्पादकत्व बढाउन क्रियाशील किसानलाई हौसला बढाउन प्याकेजमा कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो । अलैँचीको अन्तरराष्ट्रिय बजारमा अहिले मूल्य घट्न थालेको छ । शुरुमा एक किलोको रू. दुई हजार पाँच सयसम्ममा विक्री हुने गरेको थियो । अहिले रू. छ सयदेखि एक हजार दुई सयसम्ममा विक्री भइरहेको छ । अलैँचीबाट विभिन्न प्रकारका मसला, बिस्कुट, बासनादार तेल, औषधिलगायत बनाइने गरिन्छ ।