काठमाडौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विदेशबाट स्याउका बिरुवा आयात गरिने भएको छ । उच्च घनत्व (बाक्लो गरी रोप्न मिल्ने) र धेरै उत्पादन दिने स्याउको खेती विस्तार गर्ने योजनाअनुरूप विदेशबाट आयात गर्नुपरेको परियोजनाले जानकारी दिएको छ ।

पहिलो चरणका लागि १ लाख बिरुवा आयात गरिने भएको छ । आयातीत बिरुवा हाललाई सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र कालिकोटमा वितरण गर्ने योजना छ । ती जिल्लाका किसानले ७० प्रतिशत अनुदान सहुलियतमा ती बिरुवा पाउनेछन् ।

विशेष प्रविधि र प्रक्रियाबाट तयार गरिने उक्त बिरुवा महँगो पर्ने परियोजनाका सूचना अधिकारी परशुराम रावतले जानकारी दिए । ‘नेपालका स्याउ विज्ञहरूसँग छलफल गर्दा किसानको हातमा पर्दासम्म प्रति बिरुवा रू। १ हजार ५ सयसम्म पर्ने थाहा भएको छ,’ उनले भने, ‘त्यसबाट घटेर जसले सबैभन्दा कम मूल्यमा बिरुवा उपलब्ध गराउन सक्छ उसैलाई बिरुवा आयातको ठेक्का दिइनेछ ।’ नेपालमा स्याउको यो विशेष बिरुवा ल्याउने कम्पनी धेरै नभएका कारण परियोजनाले बिरुवा आयातका लागि अन्तरराष्ट्रिय रूपमा बोलपत्र आह्वान गरेको थियो ।

बिरुवा ल्याउने ठेक्का प्राप्तिका लागि निवेदन दिने समय सोमवार सकिएको छ । परियोजनाले पहिलो चरणमा गाला, गोल्डेन डेलिसियस र फुजी जातका स्याउको बिरुवा आयात गर्न लागेको हो ।

परीक्षणका रूपमा लगाइने १ लाख बिरुवाले राम्रो प्रतिफल आए अर्को वर्ष ३/४ लाख बिरुवा आयात गर्ने योजना परियोजनाले बनाएको छ । ती स्याउका बिरुवाको माग उच्च रहेको सूचना अधिकारी रावतले बताए । ‘यसै पटक स्याउ खेतीका लागि माग आह्वान गरिएकोमा ९ लाख बिरुवाको माग भएको थियो,’ उनले भने, ‘७० प्रतिशत अनुदान दिँदा पनि किसानले प्रति बिरुवा करीब ३ सयदेखि ४ सयसम्म हाल्नुपर्ने हुँदा त्यतिका सङ्ख्यामा गइहाल्ने सम्भावना कम छ ।’ परीक्षण सफल भए र माग पनि बढ्दै गए देशभित्रै उक्त प्रकृतिको स्याउका बिरुवा उत्पादन थाल्ने र स्याउ उत्पादन हुने अन्य जिल्लामा पनि विस्तार गर्ने परियोजनाको योजना छ ।

७ वर्षमा फलफूलमा आत्मनिर्भर :
परियोजनाले ७ वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने उद्देश्य राखेको छ । परियोजना २०७३ साउनदेखि शुरू भएको हो । परियोजनाले हिमाली क्षेत्रका लागि स्याउ तथा अन्य क्षेत्रका लागि वातावरण सुहाउँदा अन्य फलफूल विकासको योजना बनाएको छ । यसक्रममा स्याउबाहेक अन्य सबै फलफूलका बिरुवा भने देशभित्रैबाट उत्पादन हुने परियोजनाले जानकारी दिएको छ ।

उच्च घनत्व स्याउको विशेषता :

रोपिएको एकै वर्षमा उत्पादन दिन शुरू ।
रोप्न तयार पार्नुअघि यो बिरुवाको माथिको भाग २÷३ वर्ष हुर्काइसकिएको हुन्छ । यसकारण रोपेको एकै वर्षमा यसले फल दिन्छ ।
सानै उचाईमै फल दिन थाल्छ ।
रोपिएको ४० वर्षसम्म उत्पादन दिन्छ ।

समाचार स्रोत:आर्थिक अभियान दैनिक