ललितपुर। उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ ।

हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरूमा मिल्क होलिडे देखापार्न थालेको छ ।

किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा सडकमा पोखेर दुखोसो गर्ने प्रवृत्ति बढेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदमा कम र वर्षामा बढी मूल्य कायम हुने गरी दूधको मूल्य समायोजन गर्ने नयाँ विधिको थालनी गर्न लागेको हो ।

मन्त्रालयले यसम्बन्धी अध्ययन गर्न गठन गरेको कार्यदलले सुझाबसमेत दिइसकेको प्रवक्ता तेजप्रसाद सुवेदीले जानकारी दिए । ‘किसानले उत्पादन गरेको दूध खेर जाने स्थितिबाट रोक्न अध्ययन भएको थियो, त्यसको रिपोर्ट पनि आएको छ,’ सुवेदीले भने ।

मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा दूध उत्पादन बढी हुने सिजन (कात्तिकदेखि फागुनसम्म)मा कच्चा दूधको मूल्य प्रतिलिटर ५ देखि ७ रुपैयाँ कम निर्धारण गर्नुपर्ने सुझाब दिइएको छ । ‘यो वेला दूध उत्पादन बढी हुने भएकाले मूल्य सस्तो गर्दा उद्योगीले बढी दूध किसानबाट खरिद गर्छन्,’ उनले भने, ‘बजार मागभन्दा बढी उत्पादन भएको कच्चा दूधलाई पाउडर बनाएर राख्न सकिन्छ । सस्तोमा दूध पाए पाउडर बनाएर राख्न उद्योगी पनि सहमत भएका छन् ।’

किसानले पनि लागत मूल्यभन्दा कम नहुने गरी हिउँदमा सस्तो मूल्य निर्धारण भए मान्य हुने बताएका छन् । दूध सडकमा पोख्नुको सट्टा बिक्री गर्ने वातावरण खोजिरहेका किसानले दुईथरी मूल्य निर्धारणमा सहमति जनाएको पन्तले जानकारी दिए ।

त्यस्तै दूध उत्पादन कम हुने समय९चैतदेखि असोजसम्म०मा माग बढ्ने गर्छ । गर्मीका कारण दही, मोही, आइसक्रिमलगायत परिकार बनाउन दूधको प्रयोग बढ्छ । उत्पादन घटेका वेला माग बढ्ने हुँदा बर्सेनि भारतबाट पाउडर दूध आयात हुने गरेको छ । ‘उत्पादन घट्ने सिजनमा कच्चा दूध प्रतिलिटर ५ देखि ७ रुपैयाँ बढी मूल्य निर्धारण गरिदिनुपर्छ ।

यसो गर्दा किसान पनि उत्पादन बढाउन क्रियाशील हुन्छन्,’ पन्तले प्रतिवेदनमा दिएको सुझाब सम्झँदै भने । हिउँदमा सस्तो मूल्यमा किनेको दूधबाट बनाएको पाउडर पानीमा घोलेर उद्योगीले वर्षामा आपूर्ति गर्दा विदेशबाट आयात हुने पाउडरको परिमाणसमेत घट्ने उनको अपेक्षा छ ।

‘हामीले हिउँदमा मूल्य घटाएर उत्पादित सबै दूध उद्योगीलाई खरिद गर्न लगायौँ भने गर्मीमा आयात हुने पाउडरको मात्रा घट्छ,’ पन्तले भने । मन्त्रालयले आगामी वैशाखबाट प्रतिवेदनको सुझाबअनुसार वर्षमा दुईपटक मूल्य समायोजन गर्ने प्रणालीको सुरुवात गर्ने तयारी गरिरहेको छ ।