ललितपुर। कृषि तथा पशुपक्षी व्यवसाय अनुदान कर्जामा १४ अर्ब १२ करोड रुपैयाँ गएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार किसानहरुले बैङ्क तथा वित्तीय संस्थाहरुबाट सो कर्जा उपयोग गरेका हुन् । सरकारले कृषि तथा पशुपक्षी व्यवसाय गर्न बैङ्कबाट लिने कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।

सुरुमा यस कर्जातर्फ किसानले खासै चासो नराखे पनि पछिल्ला दिनहरुमा अनुदान कृषि कर्जामा किसान आकर्षित हुँदै आएका छन् । २०७५ असोजसम्म ९ हजार ५ सय ६३ जनाले अनुदान कर्जा उपयोग गरेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ । सो ऋण उपयोग गर्दा राज्यले ५ प्रतिशत ब्याज अनुदानबापत् हालसम्म ६७ करोड ९२ लाख रुपैयाँ खर्चेको छ ।

सरकारले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न २०७१/०७२ को बजेटमार्फत् कृषि अनुदान कर्जा दिने घोषणा गरेको थियो । त्यसैअनुरुप बढ्दो बरोजगारी र ग्रामीण क्षेत्रबाट युवाहरु पलायन हुने समस्या सम्बोधन गर्न र युवालाई कृषिमा आकर्षित गर्न युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०७१ ल्याएको थियो ।

कार्यविधिले व्यावसायिक तरकारी, पशुपक्षीपालन, जडिबुटी, तरकारी, फलफूलखेती, दुग्ध व्यवसाय, मत्स्यपालन, च्याउखेती, शीत भण्डारण, पशुबधशाला एवम् मासुजन्य व्यवसायका लागि वाणिज्य बैङ्कबाट ऋण दिने व्यवस्था गरेको थियो । त्यतिबेला सरकारले ब्याज अनुदानका लागि एक अर्ब रुपैयाँ छुट्याएको थियो ।

त्यतिबेला ४ प्रतिशत ब्याज अनुदान दिने भनेपनि पछि ब्याज अनुदान बढाएर ५ प्रतिशत पु¥याइएको थियो । ५ प्रतिशत ब्याज अनुदान पाउने भएपनि किसानसँग बैङ्कले थप ६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन ।