
ललितपुर। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारले तयारी थालेको छ । उखुको क्रसिङ सिजन नजिकिन थालेपछि सरकार यो वर्षको उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा जुटेको हो ।
मंसिर पहिलो साताभित्र उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरी सक्ने तयारी सरकारको रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । सरकारले उखुको न्यूनतम समर्थन मूल्यपछि उखु किसानले उखु क्रसिङ सुरु गर्ने छन् ।
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको नेतृत्वमा गत साता सात सदस्यीय समिति गठन गरी छलफल सुरु गरेको छ ।
छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, चिनी उद्योगी, उखु किसान र सरोकारवाला निकायको सुझाव पेस गरेको नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जनाएका छन् । चिनी उद्योगी र उखु किसानले आफ्नो सुझाव पेस गरेको बताए । मैनालीका अनुसार चिनी उद्योगीले उपभोक्तालाई चिनी सस्तो दिन उखुको मूल्य सस्तो हुनुपर्ने सुझाव पेस गरेका छन् ।
उद्योगीले चिनी सस्तो बनाउन उखुको मूल्य ३९३ रुपैयाँ हुनुपर्ने सुझाव आयोगमा राखेको मैनालीले बताए । उनले भने, ‘सरकारले उद्योगीको सुझावअनुसार उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरे उखु किसान सिधै मारमा पर्नेछन् ।’ सो मूल्यले उखु किसानको लागत समेत नउठ्ने उनले बताए । उखु किसानको लागत मूल्य उठ्नलाई कम्तीमा पनि प्रतिक्विन्टल ५४५ रुपैयाँ सरकारले उखु मूल्य निर्धारण हुनुपर्ने सुझाव किसानको रहेको उनले बताए । अब अर्को छलफल छठ पर्वपछि हुने बताए । मैनालीका अनुसार, मंसिरको पहिलो हप्तासम्ममा उखुको मूल्य निर्धारण गरी सक्ने तयारीमा सरकार लागेको उनले बताए । मंसिर पहिलो साता उखुको मूल्य निर्धारण भए पुस पहिलो साताबाट मिल सञ्चालन हुनेछन् ।
गत आर्थिक वर्षमा उखुको क्रसिङ सकिएपछि गत वैशाखमा सरकारले प्रतिक्विन्टल उखुको न्यूनतम समर्थन मूल्य ५३६ रुपैयाँ निर्धारण गरेको थियो । अघिल्लो आर्थिक वर्ष प्रतिक्विन्टल उखुको ५३१ रुपैयाँ मूल्य तोकिएको थियो । मैनालीका अनुसार, बाली लगाउनुपूर्व सरकारले मूल्य नतोकिदिँदा किसान बर्सेनि मारमा पर्ने गरेका छन् । यसका साथै लागत मूल्य पनि नपाउने समस्या रहेको छ ।
५ लाख ५० हजार किसान :
नेपालमा हाल १२ वटा चिनी उद्योग सञ्चालनमा छन् । गत आर्थिक वर्ष २०७४-७५ मा चिनी उत्पादक उद्योगीले २ करोड ६ लाख ८६ हजार ७७५ क्विन्टल किसानबाट उखु खरिद गरेका थिए । यो उखुबाट १ लाख ७७ हजार ९२४ मेट्रिक टन चिनी उत्पादन भएको थियो ।
किसानले वर्षौंसम्म उखुको लागत मूल्य नपाउँदा यो वर्ष उखु उत्पादनमा करिब २० प्रतिशतले कमी आउने उखु उत्पादक मैनाली जनाएका छन् । अहिले सुनसरी, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, नवलपरासी, कपिलवस्तु तथा कञ्चनपुरमा करिब ६१ हजार ८ सय हेक्टरमा २६ लाख ९७ हजार ८ सय मेट्रिक टन उखु उत्पादन हुने बताए । उनका अनुसार उखु खेतीमा करिब ५ लाख ५० हजार किसान आबद्ध रहेका छन् ।