घोराही। पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थालेकी छन्।

पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षितभएकिहुन।पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ ।

बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गरेकी छन्। एक करोड सात लाख रुपैयाँको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ,” उनले भने।

बजारमा च्याउको माग बढ्दै गएको छ । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिन्छ। “च्याउको अचार र सुकुटी मागअनुसार पुर्याउन सकेका छैनौँ,” बुढाले भने। बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेकी छिन।

घोराही– १४ का कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा लागेकी छन्। बजार राम्रो देखेपछि उनी च्याउ खेतीतर्फ आकर्षित भएकी हुन। अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री वितरण गरिरहेकी छिन। “गत वर्ष चार सय किलो च्याउ बिक्री गर्यौँ,” उनले भने, “च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ ।”

अचार र सुकुटी खरीद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उनले सामूहिक रुपमा सात लाख रुपैयाँको लगानीमा सो व्यवसाय थालेकी हुन ।

यहाँ उत्पादन भएको च्याउ दाङबाहेक रुकुम, रोल्पा, प्युठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । घोराही उपमहानगरपालिका कृषि शाखाका प्रमुख भरतमणि पोखरेल जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको बताउँछन्। “बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौँ,” उनले भने ।

कार्यालयले यस वर्ष कृषकलाई च्याउको बीउ वितरण गरेको छ भने उत्पादन र प्रशोधन सम्बन्धि तालीम समेत प्रदान गरेको छ । जिल्लामा अधिकांश कृषकले दुधे च्याउ, गोब्रे र सिताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दैआएका छन् ।