
नवलपरासी। कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोराछोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका छैनन् । स्वयं रोजगारका लागि कतै भौँतारिनु परेको छैन ।
लोपोन्मुख स्थानीय अनदी धानको चामलबाट तयार पारिने चिचर, कुखुरा (साकिनी), हाँस, माछा र घुँगीबाट तयार पारिएका स्वादिष्ट परिकार बिक्रीबाट उनीहरुको जीवनस्तरमा परिवर्तन आएको हो ।
यहाँका आदिवासी थारु र बोटे समुदायले अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरेका छन् । घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटक उनीहरुका मुख्य ग्राहक हुन् ।
गाउँमा कुनै नौलो मान्छे आउँदा बोल्न डराउने, केही कुरा सोधे रिसाउने तथा लजाउने उनीहरुको व्यवहारमा अहिले निकै परिवर्तन आएको छ । विभिन्न थरीका पाहुनाको सत्कार र सम्मानबाट नयाँ संस्कारको सिको तथा लोपोन्मुख संस्कृति र नृत्य प्रदर्शनको जगेर्ना भएको छ ।
कावासोती–१५ मा थारु समुदायका ५६, मुसहरका ७८ र बोटेका ७६ घर छन् । त्यहाँको कूल जनसङ्ख्या करीब एक हजार दुई सय छ । उनीहरु कृषि, पशुपालन र खोलामा माछा मारेर जीवन निर्वाह गर्दै आएका छन् ।
थारुको २१ तथा बोटेका तीन घरमा घरबास सञ्चालन गरिएको छ । घरबास सञ्चालन नगरेका परिवारले प्राङ्गारिक तरकारी खेती, हाँस, स्थानीय कुखुरा तथा पशुपालन गरी उत्पादन घरबास सञ्चालकलाई बिक्रीवितरण गर्दै आएका छन् ।
कृषि, पशुपालन र माछा मारेर मात्र उनीहरुको जीवनमा परिवर्तन आएको होइन । मुख्यतः परम्परागत खेती र पशुपालनको संरक्षणमा घरबासका कारण उनीहरुको जीवनमा परिवर्तन आएको हो । नारायणघाटबाट झण्डै ३५ किमी टाढा डण्डा बजारबाट चार किमी पूर्वमा घरबास सञ्चालनमा छ । बाण खोला र गुन्द्रही ढकाह मध्यवर्ती सामुदायिक वन आसपासमा घरबास छन् । घरबासकै कारण सो ठाउँ चिनिएको छ ।
गरे के हुँदैन भन्ने उदाहरण यहाँको समुदाय । चोकचोकमा सानासाना पोखरीमा हाँस पालिएको छ । स्थानीय कुखुरा साकिनीको संरक्षण भएको छ । स्थानीय परिकारले बजार पाएको छ । समस्त परिवारले काम पाएका छन् । स्थानीय खाद्यान्नले बजार पाएको छ । पाहुनाको सम्मान भएको छ । लोपोन्मुख थारु तथा बोटे संस्कृतिको पहिचान झल्किएको छ ।
नेपालको पहिलो ‘होमस्टे’ सिरुबारी हो । सो घरबास स्याङ्जाको आँधीखोला गाँउपालिकामा तत्कालीन सांसद रुद्रमान गुरुङले २०५४ सालमा सञ्चालनमा ल्याउनुभएको हो । अहिले धेरैजसो जिल्लामा घरबास सञ्चालनमा आएका छन् । नेपालमा करीब २०० सय घरबास सञ्चालनमा रहेको व्यवसायी धनीराम गुरौले बताउनुभयो ।
आजभन्दा पाँच वर्ष पहिले स्थापना गरिएको अमलटारी होमस्टेका संस्थापक सदस्यको समूहले आम्दानीलाई यथोचित व्यवस्थापन गर्न दिगो गाउँ सहकारी संस्थाको स्थापनासमेत गरेको छ । हाल उक्त सहकारी संस्थामा रु एक करोड ५० लाख बचत सङ्कलन भएको संस्थाका अध्यक्ष प्रेमशङ्कर मर्धन्या थारुले जानकारी दिनुभयो ।
संस्थाले गरीब परिवारको आर्थिक अवस्था सुधार गर्न विनाधितो रु तीन लाखसम्म लगानी गर्दै आएको छ । अमलटारबासी गरीबी घटाउँदै लैजानुपर्छ भन्ने मान्यता राख्छन् । ऋणीलाई जम्मा ६ प्रतिशत ब्याजमा लगानी गर्नु सो संस्थाको उद्देश्य हो ।
राष्ट्रिय सहकारी महासङ्घले सबैभन्दा सस्तो ब्याजमा ऋण लगानी गर्ने नेपालको पहिलो सहकारी संस्था हमार दिगो गाउँ सहकारी संस्था भएको जनाएको छ । संस्थाले पाहुनालाई जङ्गल सफारीका लागि तीन जीप खरीद गरी सञ्चालनमा ल्याएको छ ।