
बाँके। परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन ।
खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उनलाई स्वदेशमै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउखेती शुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत रु ६० हजारबाट तरकारी खेती शुरु गरेका सुनारले २०६९ सालमा टहरा बनाएर रु १६ हजारको लगानीमा च्याउ खेती शुरु गरे ।
शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गरेका उनले उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् । दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पनि पाए । “लक्ष्मी बैंकबाट रु ३५ लाख ऋण लिएँ”, उनी भन्छन्, “यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।”
बन्धन र सन्तुष्टिमा फरक :
विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएको उनले सुनाए, “अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ ।”
टहराबाट च्याउखेती शुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाएका छन् । अहिले च्याउ लगाउनका लागि आठवटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ ।
पाँच जनालार्इ नियमित रोजगारी :
उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन् । च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन् भने च्याउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् ।
आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भए पनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन शुरु गर्ने सुनारले बताए ।
दैनिक पाँच क्विन्टलसम्म :
च्याउको सिजन शुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेच्ने गरेका सुनारले यसवर्ष बढाउने लक्ष्य लिएका छन् ।
उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालीमबिना नै च्याउ खेती शुरु गरेका सुनार अचेल आफैँ तालीम दिन्छन् । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा उनलार्इ अनुभव भयो ।
आत्मविश्वास र मिहिनेत :
आत्मविश्वास बढ्यो, यसैमा लागिपरे र कर्म गरे अवश्य फल पाइन्छ । भन्छन्, “हिजो १०र१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्यो र आज दुईरचार लाख दिने मान्छे छन् ।” व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । तर उनी च्याउखेतीमै लागिपरे र सफल पनि भए ।
“विसं २०७३ सालमा खोर नै सखाप थियो । रु १७ लाखको लगानी खेर गयो तर हिम्मत हारिनँ,” उनले भने, “साथीभाइको साथले फेरि शुरु गरें ।” समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनको भनाइ छ ।
सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाउनुभएको छ । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनको अनुभव छ । “आफ्नो काममा खुसी र सन्तुष्ट छु”, उनी भन्छन्, “अझै धेरै गर्न बाँकी छ ।”