बझाङ। सुदूर पश्चिमको पहाडी जिल्ला बझाङमा रसायनिक मलको अभाब भएको छ । हिउँदे बाली लगाउने समय भएको भएपनि कृषकले समयमा नै मल नपाउँदा समस्या भएको हो ।

बाली लगाउने समय बित्नै लागे पनि किसानहरु भने अझै पनि मलको पर्खाईमा छन् ।

जिल्लामा माग अनुसारको मल समयमा नै ढुवानी नहुने र भए पनि देउलेक, सुनकुडा रायल झोता लगायतका ठाउँमा नै किसानले गाडी रोकेर मल उठाउने गर्नाले जिल्लाको माथिल्लो क्षेत्र चैनपुर, देवल गोलाई, पडेस, कैलास मष्टा, तल्कोट लागायतका आधा दर्जन गाउँपालिका किसानले मल पाउन सकेका छैनन् ।

मल नपाएका किसानहरु भने मलमा चलखेल भएको आरोप लगाउन थालेका छन् । अन्नवाली उब्जने फाँटहरु जिल्लामा भएपनि मलकै भर पर्ने अबस्था छ । बझाङका जुँजी, देवल, गोलाई, पडेस, थलारा लगायतका स्थानमा मल नभइ बिउ नछर्ने स्थिति छ ।

मल विना बझाङमा उत्पादन राम्रो नहुने र मल समयमा नै नपाईने भएकाले किसानहरु चिन्तित बनेका छन् । मल पाइने आशामा देवलसम्म पुगेको तर मल पहुँचवालाले मात्र लिएको गुनासो जयपृथ्वी नगरपालिका ४ कि गीता जोशीको छ । करिब २ घण्टा हिँडेर आएकाहरुले मल नपाएको तर देवलवासीहरुले मल पाएको उहाँको भनाइ छ । किसान तथा कृषक सहकारीका प्रतिनिधिहरुले मलको सहज आपूर्ति गर्नुपर्ने, धानको खरिद गर्नुपर्ने लगायतका माग गरेका छन् । सदरमुकाम चैनपुरमा जनप्रतिनिधहरुलाई भेटेर उनीहरुले मलको सहज आपूर्तिका लागि माग गरेका हुन् ।

बझाङमा विगत केही वर्षदेखि हिउँदे बालीनाली लगाउने वेला रासायनिक मलको अभाव हुँदै आएको छ । मल ढुवानीको जिम्मा विकोई ईल्डर्श प्रालिले लिएको छ ।