
ललितपुर। फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ।
तिहारमा अत्यधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यावसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्षजस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो। यद्यपि ग्रीमिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाइका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियसनले जनाएको छ।
पछिल्ला वर्षमा गोदावरी फूलको व्यावसायिक विकास र विस्तार हुँदै गएकाले अब तिहारका लागि आवश्यक फूल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियसनका उपाध्यक्ष शिव बहादुर खड्काले बताए।
आर्थिक वर्ष ०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको छ भने २ करोड बढीको निर्यात भएको छ। समग्रमा पुष्प व्यवसायकको वार्षिक वृद्धिदर १० देखि १५५ को हाराहारीमा रहेको एशोसियसनले जनाएको छ। पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् भने ४३ जिल्लामा व्यावसायिक पुष्प खेती विस्तार भइसकेको छ।
एसोसियसनले आर्थिक वर्ष ०७४/७५ मा १ अर्ब ८६ करोड बढीको कारोबार भएको जनाएको छ। मुलुकभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ।
पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियसनले जनाएको छ। यसैबीच, ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्य साथ प्रतियोगितात्मक प्रदर्शनी भइरहेको छ। गत बिहीबारदेखि जारी प्रदर्शनीमा गोदावरी फूलका विभिन्न प्रजातिका साथै मखमली, सयपत्री, बगानवेली, धुपीलगायत झण्डै ५ सय प्रकारका फूल राखिएको छ।
फूलका पारखीहरुले मेला अवलोकन गरी विभिन्न जातका फूलहरू किनिरहेका देखिन्छन्। अवलोकनकर्ताहरू फूलै फूलले सजिएको मेलामा फोटो खिच्न पनि व्यस्त देखिन्छन्।