मुस्ताङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताका अनुसार यस वर्ष ४५० हेक्टर जमिनमा लगाइएको १ लाख ३५ हजार स्याउका बोटबाट ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको हो । गत वर्ष ४१५ हेक्टर जमिनमा लगाइएका १ लाख २४ हजार ५ सय स्याउका बोटमा ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

यस वर्ष स्याउ बढी उत्पादन हुनुमा स्याउ फल्ने बोटको क्षेत्रफल वृद्धि मुख्य कारण भएको अधिकृत गुप्ताको भनाइ छ । यस वर्ष ३५ हेक्टर जमिनमा १० हजार ५ सय स्याउका फल लाग्ने बोट थपिँदा स्याउ उत्पादनमा प्रगति भएको हो ।

स्याउ उत्पादन वृद्धिको मुख्य कारण उत्पादनशील क्षेत्रफलको वृद्धिका अलवा जिल्लाका किसानले लगाएका स्याउ बगैंचामा समस्या नदेखिनु रहेको छ । किसानले आफ्ना स्याउ बोटको उचित गोडमेल तथा काटछाँट गरेकाले स्याउ बढी फलेको हो । त्यस्तै, स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाइएकाले यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको हो ।

मुस्ताङका पाँचवटै स्थानीय तहका कुल १२ सय हेक्टर जमिनमा स्याउका बोट लगाइएको छ । जसमध्ये सबैभन्दा बढी स्याउ उत्पादन हुने घरपझोङ गाउँपालिका रहेको एकाइ स्याउ जोन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसपछि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र थासाङ गाउँपालिका छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आंशिक स्याउ उत्पादन हुने गरेको छ । यस वर्ष उत्पादित ८० प्रतिशत स्याउ बिक्रीका लागि प्रदेश निर्यात भइसकेको अधिकृत गुप्ताले जानकारी दिए ।

उत्पादित बाँकी २० प्रतिशत स्याउ स्थानीयस्तरमै खपत हुने गरेको उनको भनाइ छ । स्याउको खुद्रा बिक्री, स्याउको सुकुटी, जुस र ब्रान्डी आदिका लागि खपत हुने गरेको छ । बागवानी विकास केन्द्र मार्फामा ३४ मेट्रिक टन स्याउ उत्पादन शीतोष्ण वागवानी विकास केन्द्र मार्फामा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष २५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष ९ मेट्रिक टन स्याउ बढी उत्पादन भएको हो ।

केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीका अनुसार यस वर्ष रेड डेलिसियस, रोयल डेलिसियस रिचारेड डेलिसियस गरी रातो जातको स्याउ २९ मेट्रिक टन उत्पादन भएको हो । गत वर्ष २१ मेट्रिक टन स्याउ उत्पादन भएको उनले बताए । त्यस्तै, गोल्डेन डेलिसियस सेतो जातको स्याउ गत वर्ष ४ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ५ मेट्रिक टन उत्पादन भएको अधिकारीले जानकारी दिए ।

यस वर्ष रातो जातको स्याउमा ८ र सेतो जातको स्याउमा १ मेट्रिक टनले वृद्धि भएको छ । बागवानी विकासले यस वर्ष रातो जातको स्याउ १५ लाख ७० हजारमा ठेक्का टेन्डर गरेको छ । यस्तै, सेतो गोल्डेन स्याउ भने थोक बिक्री गरेको छैन । बागवानीले गोल्डेन स्याउ ब्रान्डी, साइडर, जुस र स्याउको सुकुटी प्रशोधनका लागि सञ्चय गरेको अधिकारीले जनाए । बागवानीमा ४२ जातका स्याउका बोट छन् । बागवानीले रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजी, साउने र चुकुरा स्याउका बेर्ना उत्पादन गरेर बिक्री गर्ने गरेको अधिकारीले बताए ।

बागवानीले स्याउ नर्सरीका लागि कलमी बिरुवा उत्पादन गर्न कटस्टकमा उपयोगी हुने भएकाले क्रेप स्याउको बिउ संकलन भइरहेको छ । बागवानी केन्द्रले क्रेप स्याउका बिउसमेत बिक्री गर्दै आएको हो । जहाँ बर्सेनि ८ देखि १० केजीसम्म बिउ संकलन हुने गरेको छ ।

उत्पादित बिउ करिब ३ केजी केन्द्रमै खपत हुने बाँकी बिउ मुस्ताङलगायत सोलु, डोल्पा, रुकुम र जुम्ला आदि स्थानमा खपत हुने वरिष्ठ बागवानी विकास अधिकृत अधिकारीले जानकारी दिए । बागवानी विकास केन्द्रमा स्याउका अलवा आरु, आरुबखडा, नासपाती, खुर्पानी, अंगुर, कागती बदाम, ओखर र चीची गरी ९ जातका फलफूल उत्पादन हुने गर्छ ।