
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर–थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् । नेपाल र कतारबीच भएको कृषि र खाद्य सुरक्षा सम्बन्धि समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य गर्न सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।
नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्नेमा राणाले जोड दिएकी छन् ।
नेपाल श्रमिक पठाउने देशको रुपमा मात्र पहिचान बनाएको भन्दै उनले आफ्नो परिचय बदल्नुपर्ने बताइन् । ‘कतारको अहिले नेपालमा म्यानपावरको मात्र व्यावसाय छ, जसलाई हामीले फेर्न खोजिराखेका छौं,’ राणाले भनिन्, ‘नेपालमा अहिले सरकार समेत स्थिर रहेको र लक्ष्य आर्थिक समृद्धि भएकैले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिराखेका छौं ।’
कतारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसमक्ष कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कतारलाई कृषि उत्पादन बढाउन पानीको अभाव, बलौटे तथा नुनिलो माटोयुक्त जमीनलगायत चुनौतीका रूपमा छन् । यद्यपि, लक्षित योजना र प्रविधिको प्रयोगले यस क्षेत्रमा उसले फड्को मारेको छ ।
कतारका यिनै अनुभवबाट नेपालले लाभ उठाउने औपचारिक प्रक्रियाको रूपमा नेपाल–कतार कृषि सहकार्य समझदारी ९एमओयू० मा हस्ताक्षर भएको छ ।
चालू आर्थिक वर्षका बितेका महीनामा नेपालबाट कृषि उत्पादनतर्फ लसुन र प्याज कतार निर्यात आएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । एमओयूपछि यीलगायत अन्य उत्पादनको निर्यात सहज हुने कृषि मन्त्रालयले बताएको छ । ‘एमओयूले कतारका व्यवसायीलाई नेपालको कृषि व्यवसायमा लगानीको ढोका पनि खोल्नेछ,’ प्रवक्ता सुवेदीले भने । राष्ट्रपति भण्डारीले मङ्गलवार कतारको राजधानी दोहामा त्यहाँका व्यवसायीसँगको भेटमा ‘नेपालमा व्यवसाय र लगानीका अवसर’ विषयमा बोल्ने सम्भावना छ ।
कसरी गर्दै छ कतारले कृषिमा प्रगति ?
विश्व बैङ्कको सन् २०१४ को प्रतिवेदनअनुसार कतारको कुल भू–भागको ५ दशमलव ६५ प्रतिशत ९१३ हजार हेक्टर० जमीन मात्र खेतीयोग्य छ । उक्त जमीनमा पनि सिँचाइका लागि पानीको अभावका कारण अपेक्षित उत्पादन गर्न सक्ने अवस्था छैन ।
यद्यपि, अबको करीब ५ वर्षमा १८ हजार २ सय ११ हेक्टर जमीनमा १ हजार ४ सय फार्म विस्तार गर्ने कतारको योजना छ । तीमध्ये अधिकांश फार्ममा हाइड्रोपोनिक प्रविधिमार्फत तरकारी र फलफूल उत्पादन गरिनेछ । पानी र माटोको कम उपयोगमै उत्पादन हुने कारणले कतार सरकारले फलपूmल र तरकारीखेतीमा बढी जोड दिएको छ ।
कतारमा अन्न उत्पादन घट्दो क्रममा छ । तर, अन्नको खपत भने प्रतिवर्ष उच्च मात्रामा बढ्दो छ, जसको परिपूर्तिका लागि कतारले भारत, अमेरिका, ब्राजिल र अष्ट्रेलियालगायत देशबाट गहुँ, मकै, दाल, जुनेलोजस्ता खाद्यान्न आयात गर्दै आएको छ । सकेसम्म यस्ता खाद्यान्नको आयात घटाउनेतर्फ कतारको ध्यान केन्द्रित हुँदै गएको छ ।
प्रविधिमा सुदृढीकरण, कम पानी खपत हुने टनेल खेती, सरकारको कृषि अनुदान, अलवणीकरण गरिएको पिउने पानी कृषिमा प्रयोग जस्ता पक्ष कतारको कृषिक्षेत्रको विकासका आधार मानिएका छन् ।
कतारको कृषिका बाधक कृषियोग्य जमीनको कम उपलब्धता, कम वर्षा, मरुभूमि, आँधीलगायत हुन् । यस कारण बढ्दो माग प्रतिस्थापन गर्नेगरी उत्पादन गर्नु कतारका लागि निकै चुनौतीपूर्ण छ । यही अवस्थामा माटो, पानी र मौसमका हिसाबले पनि विविध कृषिउपजका लागि अनुकूल भएको नेपालले कृषिमा कतारी लगानी तथा प्रविधि भित्र्याएर आन्तरिक खपत र निर्यातमा महत्त्वपूर्ण फड्को मार्न सक्छ ।