
काठमाडौं। उखु किसानको अझै पनि १ अर्ब रकम बक्यौता रहेपछि उखु किसानलाई त्यस्तो रकम भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही प्रक्रिया अघि बढेको छ । त्यस्ता मिललाई कारबाही गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले विवरणसहित गृह मन्त्रालयलाई आइतबार पत्र पठाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
गत मंगलबार मन्त्रालयले चिनी मलिकसँग मागेको विवरणको आधारमा कारबाहीका लागि गृह मन्त्रालय पठाएको उनले बताए । चिनी मिलले मन्त्रालयलाई दिएको विवरणअनुसार उखु किसानलाई चिनी मिलले अझै १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रवक्ता सुवेदीले भने, ‘उखु किसानलाई दिनुपर्ने रकम नदिने मिललाई कारबाही गर्न गृहमा पठाएको छांै, अब गृहले कारबाही गर्छ ।’ गत २२ असोजमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सम्बन्धित मन्त्रालयका सचिवबीच छलफलमा पाँच दिनभित्र किसानको रकम भुक्तानी चुक्ता नगर्ने मिललाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कारबाही अघि बढाइएको हो ।
नेपाल उखु उत्पापादन महासंघका अध्यक्ष कपिल मैनालीका अनुसार, उखु किसानलाई उखु मिलले दिन बाँकी रकम भुक्तानी गर्न करिब ७० करोड रहेको बताए । अहिले धेरै जस्तो मिलले किसानलाई बिदाको दिनमा पनि बैंकमा पैसा पठाइ रहेको उनले जानकारी दिए ।
१२ वटा चिनी मिलमध्ये किसानलाई भुक्तानी नगर्ने सर्लाहीको अन्नपूर्ण सुगर मिलले सबैभन्दा धेरै रकम दिन बाँकी रहेको उनले बताए ।
उखु किसानको एक अर्ब बक्यौता :
९० करोडको उखु लिएकोमा हाल सम्ममा ३२ करोड दिन बाँकी नै रहेको उनको भनाइ छ । त्यस्तै, श्रीराम सुगर मिलले ६० करोडमा १० करोड रकम भुक्तानी गरेको छैन । त्यस्तै, शंकर सुगर मिलको २ करोड, बाग्मती सुगर मिलको १३ करोड रिलाएन्स सुगर मिलको २ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।