ललितपुर। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चिनी उद्योगीसँग उखु किसानलाई दिनुपर्ने बाँकी भुक्तानी गरे-नगरेको विवरण माग गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उद्योगीलाई छिटो भुक्तानी विवरण उपलब्ध गराउन पत्रचार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

चिनी उद्योगीले उखु किसानलाई लामो समयदेखि रकम भुक्तानी नगरेपछि उखु कृषकले गत असोजमा आन्दोलन गर्ने चेतावनी दिएका थिए । उखु किसानले आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले दसैं अगाडि नै उखु किसानलाई भुक्तानी पाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको थियो ।

गत २२ असोजमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, वन तथा वातावरण शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री पण्डित र सम्बन्धित मन्त्रालयका सचिवबीच छलफल गरी पाँच दिनभित्र किसानको रकम भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिइएको थियो ।

सो छलफलमा पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने निर्णयसमेत गरिएको थियो । सोही निर्णयपछि उखु किसानले रकम पाए नपाएको अवस्था बुझ्नका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले चिनी उद्योगीसँग विवरण मागेको हो ।

चिनी उद्योगीले लामो समयदेखि उखु किसानलाई भुक्तानी गर्नुपर्ने २ अर्ब रुपैयाँ र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु किसानले बताउँदै आएका छन् ।

यता चिनी उद्योगीलाई मागेको विवरण संकलन भएपछि एक साताभित्रै थप के गर्ने भन्ने निर्णय गरिने पनि सुवेदीले बताए ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो । स्वदेशी उद्योगले उत्पादन गरेको चिनीभन्दा आयातीत चिनी सस्तो भएकाले स्वदेशी चिनी बिक्री नभएकाले उखु किसानको रकम भुक्तानी गर्न नसकेको गुनासो उद्योगीको छ ।