ललितपुर। संघीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला अण्डा र कुखुराको मासु उत्पादनमा आत्मनिर्भर बनेको छ ।

वार्षिक ९ हजार ६ सय मेट्रिकटन कुखुराको मासु उत्पादन गर्ने काभ्रेमा करिव १ हजार कुखुरा फर्म रहेको छ । काभ्रेमा उत्पादन हुने कुखुराको मासु र अण्डाको बजार काठमाडौं बन्न भने सकेको छैन ।

राजधानी काठमाडौंमा आवश्यक मासु तथा अण्डा अन्यत्रबाट आयात हुने भएपछि प्रतिष्पर्धा बढ्दोछ । त्यसैले पनि काभ्रेको बजार सिन्धुपाल्चोक, रामेछाप रहँदै आएको छ ।

वार्षिक १ करोड ५० लाखको हाराहारीमा अण्डा उत्पादन गर्ने काभ्रेले ९ हजार ६ सय मेट्रिकटन भन्दा बढी मासु उत्पादन गर्छ । विश्व स्वास्थ्य संगठनले एक वर्षमा प्रतिव्यक्ति कम्तिमा ४८ वटा अण्डा सेवन गर्नुपर्छ, काभ्रेमा भने वार्षिक एक व्यक्ति बराबर ५० वटा अण्डा सहजै पुग्छ ।

यो तथ्यांकले काभ्रेलाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाएको देखाउँछ । माउ कुखुरा उत्पादन गर्ने प्यारेन्ट फर्मसम्म रहेको यहाँ १ हजारको हाराहारीमा ब्रोईलर फर्म र १२ वटा प्यारेन्ट कुखुराको फर्म रहेको छ ।

काभ्रेलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन यहाँका महिलाले समयको सदुपयोग गर्दै कुखुरा पालनमा ध्यान दिने गरेका छन् ।

कुखुरा उत्पादक किसानको समस्या पनि कम्ति रहेको छैन । सहज बजार, कुखुरामा लाग्न सक्ने रोगको समस्या समाधान किसानको चिन्ता हुनेगर्दछ । तर, उचित हावापानीका कारण कुखुरा उत्पादन काभ्रेका लागि उचित रहेको छ ।